June 26, 2017

एमालेको पत्रकार सम्मेलनः मेची महाकाली राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्न भएको दाबी

काठमाण्डौ, ४ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मेची महाकाली राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्न भएको बताएका छन् ।

मेची–महाकाली राष्ट्रिय अभियानको समापन अबसरमा एमालले कञ्चनपुरको भिमदत्तनगरमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले अभियानमा जनसहभागिता, उत्साह र जनताको स्वतःस्फूर्त सद्भावबाट पार्टी अत्यन्त उत्साहित र हर्षित भएको जनाए ।

अध्यक्ष ओलीले अभियानमा सहभागिता, सहयोग र ऐक्यबद्धता प्रकट गर्नुहुने आमजनसमुदायमा कृतज्ञता ज्ञापन गर्दै वर्तमान सरकारले बितेको सात महिनामा स्थानीय तहको निर्वाचन मिति घोषणाबाहेक अन्य कुनै पनि काम गर्न नसकेको आरोप लगाए ।

अभियानको प्रचारप्रसारका लागि झन्डै १० लाख घरधुरीमा पुगेर कार्यकर्ताले ५० लाखभन्दा बढी जनतालाई पार्टीको अपिल वितरण गरेका र २५ किलोमिटरभन्दा लामा र्‍यालीहरू भएको अध्यक्ष ओलीले ठहर थियो ।

‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमानः सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि मेची–महाकाली अभियान’ भन्ने नाराका साथ नेपालको पूर्व झापा जिल्लाको काँकडभिट्टाबाट सुरु भएको मेची–महाकाली राष्ट्रिय अभियान पश्चिमको कञ्चनपुरस्थित महेन्द्रनगरमा पुगेर बिहीबार सम्पन्न भएको थियो ।