एनसेललाई कर छुट दिनु राष्ट्रघात : डा. बाबुराम भट्टराई

काठमाण्डौ २९ फाल्गुन । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सरकारले एनसेललाई ३३ अर्ब रुपैयाँ राजश्व गुम्ने गरी  कर छुट दिएर राष्ट्रघात गरेको आरोप लगाएका छन् ।

मन्त्रीपरिषद्बाट विदेशी लगानी रहेको दूरसञ्चार कम्पनी एनसेलको विक्रिमा लाग्ने पूँजीगत लाभकर नउठाउने निर्णय गर्नु  गम्भिर अपराध भएको डाक्टर भट्टराईले ठहर छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्रको उच्च सहमति भन्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मन्त्रीपरिषदमा ठाडो प्रस्ताव राखी एनसेलको कर छलीमै सघाउ पुर्‍याउने गरी भएको निर्णयको डाक्टर भट्टराईले बिरोध गरेका छन ।

एउटा कर अधिकृतले (शाखा अधिकृत स्तर) गर्नुपर्ने निर्णयअधिकार खोसेर मन्त्रीपरिषदमा ठाडो प्रस्ताव लगी निर्णय गराउनु भ्रष्टाचारजन्य अपराध र निर्लज्जताको पराकाष्ठा हो अध्यक्ष भट्टराईद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा अगाडी भनिएको छ  एउटा गरीब किसानले आफ्नो मेहनत र पसिनाबाट जोडेको कुनै घर खेत समेत बिक्रि गर्दा पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ । हरेक मालपोत कार्यालयले शुरुमा किन्दा र बिक्रि हुँदाबीच फरक भएको रकममा निश्चित प्रतिशतले लाभकर (राजश्व) उठाउने गरेका छन् ।

तर, सोही प्रकृतिको सम्पत्ति, एनसेल, बेचबिखन हुँदा सिंगो राज्य संयन्त्र कर छलीमै सघाउ पुर्‍याउने गरी लाग्नु भ्रष्टाचार मात्रै हैन, यो राष्ट्रघात हो। ३३ अर्ब रुपैयाँ राजश्व  गुम्ने विषय सानो र चुप लागेर बस्ने विषय नभएको टुलुटुलु हेरेर बस्न नहुने डा भट्टराईको तर्क छ ।