एडिबी डाइरेक्टरले भने ‘परियोजना प्रमुख क्षमतावान छैनन्’

काठमाण्डौ, १५ फाल्गुन । एसियाली विकास बैंक (एडिबी)का कन्ट्री डाइरेक्टर केनिची योकोयामाले सरकारले नियुक्त गर्ने परियोजना प्रमुखको क्षमता नै अहिलेको मुख्य चूनौति भएको बताएका छन् ।

आईतबारबाट काठमाण्डौमा सुरु भएको एडिबीका परियोजनाहरुको समीक्षा बैठक (टिपिआरएम)मा उनले परियोजना सबल कार्यान्वयनका लागि प्रतिवद्ध र क्षमतावान नेतृत्वको आवश्यकता हुने बताए ।

अहिले एडिबीले लगानी गरेका परियोजनामा सरकारले प्रमुख नियुक्त गर्छ । जसमा मन्त्री निकटहरुले जिम्मेवारी पाउँदै आएका छन् । योकोयामाले यसरी हुने नियुक्तिमा सक्षम व्यक्ति पठाउनु पर्ने बताए । टिपिआरएमले देशका महत्वपुर्ण परियोजनाका चुनौतीहरु पहिचान गरी समाधानको बाटो निकाल्नेमा आफु विश्वस्त रहेको बताए ।
कार्यक्रममा अर्थ सचिव शान्तराज सुवेदीले परियोजना कार्यान्वयनमा तिब्रता दिन ‘प्रोजेक्ट डाइरेक्टर’हरुले स्थानीय तह देखि केन्द्रसम्मका समस्या पहिचान गरी समाधानको बाटो पत्ता लगाउनुपर्ने धारण राखेका छन् ।

कार्यक्रममा एडिबीको लगानीमा नेपालमा सञ्चालित मध्ये सन् २०१६ मा राम्रो नतिजा दिन सफल परियोजनालाई पुरस्कृत समेत गरिएको छ । मेलम्ची खानेपानी आयोजना, काठमाडौँ उपत्यका खानेपानी लिमिडेट र सासेक पावर सिष्टमले उत्कृष्ठ परियोजनाको रुपमा पुरस्कार पाएका हुन् ।

टिपिआरएममा एडिबी अन्तर्गतका परियोजनाले गत बर्ष हासिल गरेको उपलब्धि समीक्षा र यो बर्षका लागि कार्ययोजना तय हुनेछ । आइतबार सुरु भएको बैठक सोमबारसम्म
चल्नेछ ।