August 21, 2017

एटीएम कार्डबाट अनधिकृतरुपमा रकम निकाल्ने चारजना माल्दोभियन पक्राउ

काठमाण्डौ, २१ चैत्र । एटीएम कार्डबाट अनधिकृतरुपमा रकम निकाल्ने चारजना माल्दोभियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले सोमबार पत्रकार सम्मलेन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा निकु डियोरडिजा पा, एलेक्स, युरिया दरमेन्जी पा, युगिन्यू डियोरिजा पा रहेका छन् ।

पक्राउ परेका तीनजनासँग रोमानियाको नागरिकतासमेत रहेको र पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्गमा बसेर एटीएमबाट रकम झिकी अमेरिकी डलर र युरोमा सटही गरी बाहिर पठाउने गरेको प्रहरीले जनाएको छ । उनीहरुले नेपाल इन्भेस्टमेन्ट बैंक र ग्लोबल आइएमई बैंकबाट रकम निकालेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ७ लाख ८१ हजारभन्दा बढी नेपाली रुपैयाँ, १६ सयभन्दा बढी अमेरिकी डलर, २२ सयभन्दा बढी युरो, ४ सय ९५ थान एटीएम कार्ड, एकथान कार्ड स्किमिनीङ, डिभाइस एकथान, र ल्यापटप पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

हालसम्म एटीएम कार्ड ठगीमा चारजना रोमानियाली, तीनजना टर्किस, दुईजना बुल्गेरियन, दुईजना भारतीय र चारजना माल्दोभियन गरी १५ जना विदेशी नागरिका पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।