एक वर्षभित्र १८ हजारलाई प्रत्यक्ष रोजगारी मिल्ने योजना बनाइएको उद्योग मन्त्रालयको दाबी

काठमाण्डौ, ४ वैशाख । एक वर्षभित्र १८ हजारलाई प्रत्यक्ष रोजगारी दिन सक्ने गरी योजना बनाइएको उद्योग मन्त्रालयले जनाएको छ ।

सोमबार उद्योग मन्त्रालयले व्यवसायी लगायत सरोकारवाला निकायसँग गरेको अन्तरक्रिया कार्यक्रममा उद्योगमन्त्री नविन्द्रराज जोशीले औद्योगिक सुशासन कायम गर्न सक्ने हो भने वर्षमा एक खर्ब वैदेशिक लगानी भित्र्याउन सकिने र त्यसले १८ हजारलाई रोजगारीको अवसर सिर्जना गर्न सकिने बताएका हुन् ।

उद्योग मन्त्रालयले दश वर्ष भित्र कुनै पनि नागरिकलाई विदेश जान नपर्ने गरी रोजगारीको अवसर सिर्जना गर्ने योजना अघि सारेको छ । मन्त्री जोशीले सरकारले औद्योगिक लगानी भित्र्याएर मुलुकलाई समृद्ध बनाउने अभियानलाई उच्च प्राथमिकता दिएको जानकारी दिए ।

उद्योग मन्त्रालयले पनि वैदेशिक लगानी भित्र्याउनका लागि नीतिगत तथा संस्थागत सबै व्यवस्था गरिएको जनाएको छ ।