एक महिना भित्र पहिलो किस्ताको रकम वितरण गरिसक्न निर्देशन

२६ माघ, काठमाण्डौ । व्यबस्थापिका संसदको सार्वजनिक लेखा समितिले भूकम्प प्रभावितलाई एक महिनाभित्र पहिलो किस्ताको अनुदान रकम वितरण गरिसक्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ ।

बुधबार सिंहदरबारमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलसँग छलफल गरेपछि समितिले पहिलो किस्ताबापतको रकम एक महिनाभित्र वितरण गरिसक्न निर्देशन दिएको हो ।

समितिले आउँदो तीन महिनाभित्र दोस्रो किस्ताबापतको रकम वितरण गरिसक्न पनि निर्देशन दिएको छ । प्राधिकरणले पूँजीगत खर्चको ५ प्रतिशतमात्र खर्च गर्नु निराशाजनक भन्दै समितिले तत्काल पूँजीगत खर्च वृद्धि गर्न निर्देशन दिएको छ ।

पूँजीगत खर्च वृद्धिका लागि सहयोग र समन्वय गर्न समितिले अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिएको छ । बैठकमा समिति सदस्यहरुले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यले जनतालाई प्रत्यक्ष प्रभावकारी रुपमा राहत हुनुपर्ने धारणा राखका थिए ।

समितिले भूकम्प प्रभावितको संकलन गर्न बाँकी विवरण तत्काल संकलन गर्न र प्राविधिक लगायत आवश्यक जनशक्ति व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।