August 17, 2017

एक तिहाई महिला उम्मेदवार महिला संघको माग

काठमाण्डौ, १४ चैत्र । नेपाली कांग्रेसको भातृ संगठन महिला संघले स्थानीय तहको निर्वाचनमा गाउँपालिका वा नगरपालिकाका वडामा कम्तिमा एक तिहाई महिला उम्मेदवार बनाउन ध्यानार्कषण गराएको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा कांग्रेसका शीर्ष नेतालाई ज्ञापन पत्र बुझाउँदै नेपाल महिला संघले माउ पार्टी कांग्रेसका शीर्ष नेतालाई ध्यानाकर्षण गराएको हो ।

प्रत्येक नगरपालिकाको मेयर–उपमेयर, गाउपालिकाको अध्यक्ष–उपाध्यक्ष मध्ये १ जना महिला उम्मेदवार हुनुपर्ने कानूनी प्रावधान रहेको भन्दै कम्तीमा ३ प्रतिशत मेयर पदमा महिलालाई उम्मेदवारी दिनुपर्ने समेत संघको माग रहेको छ ।

त्यस्तै संघले पार्टीका केन्द्रदेखि गाउँ तहसम्मका हरेक तहमा कम्तिमा ३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न पनि माग गरेको छ ।

पार्टीको टिकट वितरणमा कांग्रेसका महिला केन्द्रीय सदस्यहरुसँग परामर्श गर्न पनि माग गरिएको संघका महासचिव धनमाया खतिवडाले जानकारी दिइन् । ज्ञापन पत्र बुझ्दै कांग्रेसका शीर्ष नेताहरुले संघको मागलाई प्राथमिकतामा राखिने आश्वासन दिएका छन् ।