October 24, 2017

एक तहमा मात्र उम्मेदवारी दिन पाउने एमालेको नियम

काठमाण्डौ, २१ चैत्र । नेकपा एमालेले तीन तह (संघ, प्रदेश र स्थानीय)को निर्वाचनमा एक व्यक्तिले एक पटक मात्र उम्मेदवारी दिन पाउने व्यवस्था गरेको छ ।

पार्टी कार्यलय धुम्बाराहीमा सोमबार बसेको स्थायी कमिटि बैठकले एक व्यक्तिले एक पदमा मात्र उम्मेदवारी दिन पाउने निर्णय गरेको पार्टी सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

बैठकले उम्मेदवार चयनको डेट लाइन पनि तय गरेको छ । निर्णय अनुसार वडाले चैत्र ३०, गाउँपालिका, नगरपालिका, उप (महानगरपालिका)ले वैशाख ४, जिल्लाले वैशाख ७ र प्रदेशले वैशाख १० गते भित्र उम्मेदवार चयन गरि सक्नु पर्ने रहेको छ । महानगरको उम्मेदवार भने स्थायी समितिले नै वैशाख १२ गते टुंगो लगाउने निर्णय भएको भट्टराईले जानकारी दिएका छन् ।

बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा १५ सदस्यीय घोषणा पत्र लेखन समिति र ईश्वर पोखरेलको नेतृत्वमा १५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । बैठकले सरकारले संविधानको धारा २७४ खारेज गर्ने गरी संविधान संशोधन प्रस्ताव अघि बढाउन खोजेको भन्दै आपत्ति जनाएको छ ।

यस्तो प्रस्ताव कुनै पनि हालतमा अघि बढ्न नदिने निर्णय भएको सचिव भट्टराईले जानकारी दिए ।