October 17, 2017

एकै परिवारका चार बालबालिका विकलाङ्ग आर्थिक समस्याका कारण उपचारमा समस्या

सिरहा, २३ चैत्र । सिरहाको सुखिपुर गाउँपालिका १० राजदेवी चोकका मोहमद शैयद र रिजवाना खातुनका चार छोराछोरी अपाङ्ग तथा सुस्त मनस्थितिका भएपछि अभिभावक चिन्तित छन् । उनीहरुका पाँच सन्तानमध्ये एउटी १६ वर्षीया माईली छोरी अफरोजा खातुन सपाङ्ग छन । बाँकी दुई छोरा र दुई छोरी बोल्न नसक्ने तथा उभिएर हिडडुल गर्न नसक्ने अवस्थामा छन ।

सबैको खुट्टा हेर्दा सद्दे देखिन्छ तर कसैको पनि खुट्टामा उभिने तागत छैन । उनीहरुले अरुले भनेको कुरा वा ईशारा समेत राम्रोसँग बुझ्न सक्दैनन् । आर्थिक अवस्था कमजोर भएका कारण परिवारले अहिलेसम्म उनीहरुको औषधि उपचार गर्न सकेका छैनन् ।

मोहमद रहमान १८ वर्षका भए । उनी विगत एक वर्ष देखि भित्ता समाएर वा कसैले उभ्याई दिए मात्र उभिन सक्छन । अरुले बोलाएको सुन्न सक्ने उनी बोल्न भने सक्दैनन । त्यस्तै १४ वर्षीकी फिरोजा खातुन भने उभिन पनि सक्दिनन । फिरोजा पछिका भाई मोहमद सलामर बहिनी नुरेजाको अवस्था पनि उस्तै छ ।

रिजवाना भन्छिन, ‘उमेरले हुर्के पनि अझै दिसा पिसाब सबै सोहर्नु पर्छ ।’ उनले भनिन । ‘जेठा छोरालाई ऋण काढेर काठमाण्डौंसम्म पुर्याए । वीर अस्पतालमा देखाए । डाक्टरले धेरै रकम खर्च हुने र उपचार गर्दा मृत्यु पनि हुन सक्ने खतरा बताएपछि फर्काएर ल्याएँ । यिनीहरु जस्ता भए जीवित सन्तानको मुख देख्न त पाइकी छु ।

मोहमदले भने, ‘मालिकले दिएको घरेडीमा झुप्रो हालेर बसेको छु । मालिककै पसलमा कुखुरा काटेर बेच्ने काम गरेर गुजारा गरेको छु । कुन खर्चले चार अपाङ्ग छोराछोरीको ईलाज गरु अल्लाहको मर्र्जी जस्तो थियो उस्तै भयो ।