उपेन्द्र यादवले भने ‘सप्तरीमा आफ्नै जनता मार्ने कञ्चनपुरमा सुरक्षा दिन नसक्ने’

दिनेश शर्मा
राजविराज, २९ फाल्गुन । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी र कञ्चनपुरमा भएको हत्याको जवाफ सरकारले जनतालाई दिनुपर्ने बताएका छन् ।
सप्तरी र कंचनपुरमा भएको घटनापछि सरकारले जनताको सुरक्षा गर्न नसकेको पुष्टि हुने बताउँदै उनले यस विषयमा जनताले सरकारको जवाफ खोजिरहेको बताए ।
नेकपा एमालेको मेची–महाकालि राष्ट्रिय अभियानका क्रममा फागुन २३ गते भएको झडपमा मृत्यु भएकाहरुको शव यात्रा र श्रद्धाञ्जलीमा सहभागि हुन राजविराज आएका यादवले सरकारले सप्तरीमा आफ्नै जनता मार्ने र कंचनपुरमा आफनै जनतालाई गोली हान्दा समेत सुरक्षा गर्न नसकेकाले सरकारको कडा आलोचना गरे ।
सप्तरीमा भएको घटना गृहमन्त्री विमलेन्द्र निधीले भने झै दोहोरो झडप तथा एमालेले भनेझै सामुहिक हत्याको षडयन्त्र नभई राज्यको नष्लवादी चिन्तनको प्रतिविम्व भएको यादवले आरोप समेत लगाए । उनले उक्त घटना सप्तरी वा मलेठका जनता मात्र नभई सिंगो मधेशी जनतामाथिको प्रहार भएको भन्दै समयमा यसको जवाफ पनि दिइने प्रतिक्रिया दिए ।
भारतीय प्रहरीको गोली लागि कञ्चनपुरको पुनर्वास नगरपालिकामा गोविन्द गौतम मारिएको घटनाका विषयमा वोल्दै यादवले भारतीय प्रहरीका तर्फावाट गोली नचलाईएको प्रतिक्रिया आएपछि त्यसको निस्पक्ष छानविन गरी यथार्थ जवाफ सरकारले दिनुपर्ने माग पनि गरे । उनले भने–‘सरकार जनताको सुरक्षा गर्न असमर्थ छ भन्ने पुष्टि भएको छ, यसको छानविन गरी उत्तर दिनुपर्छ ।’
संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले संयुक्त पत्रकार सम्मेलन गर्ने वताईएपनि आफु मात्र पत्रकार सम्मेलन गरेका यादवले सप्तरी घटनाको विरोधमा १÷२ दिन भित्रै गठवन्धनको वैठक वस्ने र देशब्यापी आन्दोलनका कार्यक्रम घोषणा हुने वताए । आन्दोलनका कार्यक्रम शान्तिपुर्ण र अहिंसात्मक हुने भन्दै उनले राज्यले लिने नितिले पनि आन्दोलनको स्वरुप निर्धारण गर्ने वताए ।

चुनाव  बिथाेल्ने चेतावनी

स्थानीय निकायको चुनाव संघिय लोकतान्त्रीक गठवन्धनले बिथाेल्ने बताउदै यादवले  आफुहरु चुनाव विरोधी नरहेको तर  पहिला संविधान सच्याउन र मधेशी, जनजाती, आदिवासी र अल्पसंख्यकहरुको माग पुरा गर्न आग्रह गरे । संविधान नसच्याई हाल चर्चामा ल्याईएको चुनाव संघिय गणतन्त्र समाप्त पार्ने र मुलुकलाई उल्टो दिशामा लाने प्रयास भएको उनले अाराेप लगाए ।
यादवले नेपालका कम्युनिष्टहरुलाई सर्वहाराको मुखुण्डो ओढेका रोयलिष्टको संज्ञा दिदै कम्युनिष्ट नेतृत्वकै कारण मुलुकमा सर्वहाराको भविष्य संकटमा परेको दावी गरे । सरकारमा रहेका कम्युष्टिहरु मार्फत आएको वर्तमान निर्वाचन प्रणाली र संरचनाले सर्वहारा वर्गको चुनाव लडन सक्ने सामर्थ्य पनि समाप्त पारेको बताए ।
सञ्चारकर्मीहरुले राखेको जिज्ञासाका क्रममा राजनैतिक शिष्टाचार पुरा गर्न सरकारलाई सात दिनको अल्टिमेटम दिईएको बताउँदै गठबन्धनको निर्णयअनुसार सातदिनसम्म पनि माग पुरा नभए आठौं दिन स्वतः सरकारलाई दिएको समर्थन फिर्ता हुने जानकारी पनि दिए ।