October 24, 2017

उपराष्ट्रपति पुन र सार्कका नवनियुक्त महासचिव बीच शिष्टाचार भेट

काठमाडौं, २ चैत्र । उपराष्ट्रपति नन्दबहादुर पुन  ‘पासाङ’ सँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव अजमद हुसेन बी सियालले शिष्टाचार भेट गरेका छन् ।

आज (बुधबार) अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग सार्कका नवनियुक्त महासचिवले शिष्टाचार भेट वार्ता गरेका हुन् ।

भेटमा उपराष्ट्रपतिले सार्कको काम गराइको गति बढाउनुपर्ने बताए । विभिन्न चरणमा सार्कमा भएका सहमति सम्झौता तथा निर्णयहरु कार्यान्वयनमा जोड दिए ।

उनले पाकिस्तानमा गत नोभेम्बरमा तय भएको १९ औं सार्क शिखर सम्मेलन स्थगित हुनु दुःखद्  भएको बताउँदै १९ औं शिखर सम्मेलन छिटो हुनुपर्ने बताए ।

भेटमा उपराष्ट्रपतिले सार्कको महासचिवमा नियुक्त भएकोमा अजमद हुसेन बी सियाललाई बधाई दिँदै उनको कार्यकालमा सार्कले गति लिने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपतिसँगको शिष्टाचार भेटमा सार्कका नवनियुक्त महासचिवले १९ औं सार्क शिखर सम्मेलन छिट्टै हुने र सार्कले गति लिने बताए ।

सार्क महासचिवले गत नोभेम्बरमा पाकिस्तानको इस्लामावादमा १९ औं शिखर सम्मेलन नहुनु दुःखद्  भएको बताए ।

उनले दक्षिण एशियाको सामाजिक आर्थिक विकासमा सार्कको महत्व बढेको जीकिर गरे ।