August 19, 2017

उपप्रधान तथा गृहमन्त्री निधि र बेलायती राजदूत रिचार्ड मरिसबीच भेटवार्ता

काठमाण्डौ, २२ चैत्र । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि बेलायतका राजदूत रिचार्ड मरिसबीच भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा मंगलबार भएको भेटमा उपप्रधानमन्त्री निधि र राजदूत रिचार्डबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको उपप्रधानमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिएका छन् ।

भेटमा राजदूत मरिसले नेपालमा हुन गइरहेको स्थानीय निकायको निर्वाचनका विषयमा चासो व्यक्त गरेका थिए । त्यस अवसरमा गृहमन्त्री निधिले निर्वाचनको तयारीका बारेमा जानकारी गराउँदै निर्वाचनका लागि आवश्यक बन्दोबस्ती सहयोगका लागि आग्रह गरेको प्रेस सल्लाहकार दाहालले बताए ।

गृहमन्त्री निधिले बेलायत सरकारले लामो समयदेखि नेपालको विकास निर्माणमा गरेको सहयोगका लागि धन्यवाद दिएका छन् ।

सो अवसरमा राजदूत रिचार्डले आगामी दिनमा दुई देशबीच आपसी सहयोग र मित्रता बढ्दै जाने विश्वास व्यक्त गरेका छन् ।