Breaking News

उपप्रधानमन्त्री कमल थापाको बिदाइ, भने- ‘बूढीगण्डकी नेपाली पुँजीमा निर्माण हुनु ठुलाे उपलब्धी ‘

काठमाण्डौ, २ फाल्गुन । उपप्रधानमन्त्री कमल थापाले ऊर्जा र सहरी विकास मन्त्रालयको जिम्मेवारीबाट आज औपचारिक रुपमा बिदाइ लिएका छन् ।

ती दुवै मन्त्रालयमा आज आयोजित बेग्लाबेग्लै कार्यक्रममा उनको बिदाइ गरिएको हो। ऊर्जा मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा उपप्रधानमन्त्री थापाले मुलुकको विकासमा आफ्नो कार्यकालमा महत्वपूर्ण निर्णय भएको दाबी गरे ।

‘मन्त्रालयमा आउँदा मैले आफ्नो मर्यादा र सीमा बुझेको थिए, धेरै महत्वकांक्षी थिएन,’ उनले भने, ‘बूढीगण्डकीजस्तो राष्ट्रिय गौरवको आयोजना नेपाली पुँजीमा निर्माण गर्नेजस्ता ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण निर्णय र कार्य योजना तयार भएका छन्।’

ऊर्जा मन्त्रालयका सचिव अनुप शर्मा र शहरी विकास मन्त्रालयमा सचिव जीतेन्द्रनाथ शर्माले उपप्रधानमन्त्री थापाको बिदाइ गर्दै उनको कार्यकालमा कुनै राजनीतिक दबाब र प्रभाव झेल्नु नपरेको बताएका थिए।

वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाबाट एक-दुई दिनभित्रै राजीनामा आउने चर्चा चलेको बेला उपप्रधानमन्त्री थापाले आज आफूले जिम्मेवारी सम्हालेको मन्त्रालयबाट बिदा लिएका हुन् ।

shares