उपचारका क्रममा कैदीको मृत्यु

दिनेश शर्मा

राजविराज, २२ चैत्र । कर्तव्य ज्यान मुद्दामा जिल्ला कारागार सप्तरीमा सजाय भुक्तान गरिरहेका एक कैदीको सोमबार राती मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी डाढा–८ बस्ने ८० वर्षीय नथुनी प्रसाद यादव छन् ।

कारागारमै बिरामी परेका उनको उपचारका क्रममा मृत्यु भएको पुर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मधुमेह तथा मृगौलाका रोगी यादव चैत्र १७ गते अचानक बिरामी भएपछि उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी लक्ष्मीराज अधिकारीका अनुसार लामो समयदेखि मधुमेहका कारण थलिएका यादवको पछिल्लो पटकको चेकजाँचका क्रममा भने दुवै मृगौला खराव देखिएको थियो ।

उनलाई गत असार १६ गते कारागार चलान गरीएको थियो । यादवलाई २० वर्ष कैद सजाय तोकिएको थियो ।