August 16, 2017

उद्योग मन्त्री जोशी नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउने दौडमा

काठमाण्डौ, ९ चैत्र । उद्योग मन्त्री नविन्द्रराज जोशी नेपाललाई वैदेशिक लगानीको लागि आकर्षक गन्तव्यको रुपमा चिनाउन प्रयासरत रहेका छन् ।

बेलायतको राजधानी लन्डनमा नेपाललाई आकर्षक लगानी गन्तव्यको रुपमा चिनाउन मन्त्री जोशीले बुधबार लन्डन चेम्बर अफ कमर्सका पदाधिकारीसँग भेट गरे ।लन्डन चेम्बर अफ कमर्स विश्वको ठूला संस्थामध्ये एक पुरानो चेम्बर हो ।

मन्त्री जोशीले हालै लगानी नीतिसम्बन्धी परिवर्तनको जानकारी गराउँदै यसले नेपालमा व्यापार व्यवसाय गर्न सहज हुने कुरामा आश्वस्त तुल्याएका थिए ।

लन्डन चेम्बरका सहायक प्रमुख कार्यकारी अधिकृत पिटर विसपले द्विपक्षीय व्यापार र लगानीका अवसरको सदुपयोग गर्न मिलेर काम गर्ने बताए ।

नेपालमा व्यापार व्यवसाय गर्दा कर्मचारीतन्त्रको अवरोध लगायत विविध विषयमा कुराकानी भएको थियो । मन्त्री जोशीले विदेशीलाई नेपालमा व्यवसाय गर्न अवरोध क्रमशः हटाउँदै लैजाने विषयमा काम भइरहेको बताए ।

उनले सो अवसरमा लण्डन चेम्बरलाई नेपाली चिया उपहार स्वरुप प्रदान गरेर नेपाली उद्योगीलाई बेलायतमा अवसर प्रदान गर्न आग्रह गरेका थिए ।मन्त्री जोशीको साथमा नेपाल ब्रिटेन चेम्बर अफ कमर्सका उपाध्यक्ष प्रशान्त कुँवर पनि थिए ।

मन्त्री जोशीले बेलायती प्रधानमन्त्री टोनी ब्लेयरका धर्मपत्नी चारी ब्लेयरलाई पनि भेटेका थिए । भेटमा व्यवसायका महिलाको सहभागिता र त्यसको महत्वका विषयमा कुराकानी भएको थियो ।श्रीमती ब्लेयरले विशेषतः दक्षिण एसिया उद्यम विकास आयोजनाको क्षेत्रमा क्रियाशील छिन् ।

सो आयोजना नेपालमा समेत विस्तार गर्ने विषयमा समेत सो भेटमा छलफल भएको थियो ।

उनीहरुले विकासशील राष्ट्रमा एफडीआई भित्र्याउँदा अन्तर्राष्ट्रिय व्यापार कानुन र मध्यस्थता कानुन र यसको महत्वका बारेमा समेत छलफल गरेका थिए ।

मन्त्री जोशीले गोर्खा सैनिकको मुद्दा उठाएकोमा धन्यवाद दिँदै नेपाल भ्रमणको निमन्त्रणा समेत दिएका थिए ।

मन्त्री जोशी नेपाल र बेलायतबीच २ सय औं वार्षिकोत्सव मनाउने क्रममा लर्ड मेयरको निमन्त्रणामा लन्डन पुगेका हुन् ।

भ्रमणका क्रममा मन्त्री जोशीले विभिन्न व्यापारिक घराना, सरकारी अधिकारी र सभासद्हरुलाई समेत भेट्ने कार्यक्रम रहेको छ ।