July 26, 2017

उत्तेजनात्मक कुरा गर्दैमा राष्ट्रवाद हुँदैन–पौडेल

चितवन, २५ फाल्गुन । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कुनै राजनितिक पार्टी देशको भु–भागमा जानै नपाउने र कार्यक्रम नै गर्न नपाउने स्थिति सिर्जना हुनु राम्रो नभएको बताएका छन् ।

उनले सप्तरी घटना प्रति दुस्ख व्यक्त गर्दै उक्त परिस्थिती किन आयो र त्यसको जडमा पुगेर समस्या समाधान गर्नुपर्ने उनले बताए ।

जिविस महासंघ नेपालका संस्थापक अध्यक्ष कृष्णलाल सापकोटाको जीवनयात्रा पुस्तकको बुधबार भरतपुरमा लोकार्पण गर्दै पौडेलले भने ‘एकता खलबलिने गरेर उत्तेजनात्मक कुरा गर्दैमा राष्ट्रवाद हुदैन हिमाल, पहाड, तराइ, मधेसको एकतामा नै राष्ट्रियता हो ।’

उनले अहिले मुलुकमा देखिएको समस्या समाधान गर्न हिमाल, पहाड, तराइ, मधेस चारवटै पक्षको बीचमा एउटा सहमतिको आवश्यकता रहेको औंल्याए । आफूले सहमतिका लागि व्यवस्थापन गरौं, सत्ताका लागि होइनभन्दा पनि दलहरु बीच सत्ताकै लागि सहमति हुने गरेको आरोप लगाए ।

उनले स्थानीय तहको चुनाव नजिक आइसके पनि मुलुकको अवस्था झनै अन्योलपूर्ण बन्दै गएको बताए ।