October 18, 2017

इमर्जिङ कपको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ८३ रनले पराजित

काठमाण्डौ, १५ चैत्र । एसीसी इमर्जिङ कपको दोस्रो खेलमा पनि नेपालले हारको सामना गरेको छ ।

बंगलादेशविरुद्धको खेलमा नेपाल ८३ रनले पराजित भएको हो । योसँगै लगातार दोस्रो हारपछि नेपालको दोस्रो चरणमा प्रवेश गर्ने रहर मरेको छ । यसअघि भएको खेलमा नेपाल पाकिस्तानसँग पनि हारेको थियो ।

बंगलादेशले दिएको २५८ रनको लक्ष्य भेट्ने क्रममा नेपाल ४२.३ ओभरमा १७४ रन बनाउँदै अलआउट भयो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अर्धशतकको पारी खेले । त्यस्तै दीलिप नाथले ४१, विनोद भण्डारीले ३३ बनाए पनि अरु खेलाडीले सम्झनलायक खेल प्रस्तुत गर्न सकेनन् ।

नेपाललाई हारको स्वाद चखाउन बंगलादेशका फरदोस जाभेद एक्लैले ४ विकेट लिए भने सैफउद्दिन र अबुल हसनले क्रमशः ३ र २ विकेट लिए ।

यसअघि बंगलादेशका लागि नासिर हुसेनले १ सय ९ र कप्तान मोमिनुल हकले ६१ रनको उत्कृष्ट पारी खेलेका थिए ।