September 23, 2017

इंग्लिस प्रिमियर लिगमा एभर्टन विजयी

३ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत पछिल्लो खेलमा एभर्टनले म्यानचेष्टर सिटीलाई चार–शुन्यले स्तब्ध पारेको हो । एभर्टनका लागि ३४ औं मिनेटमा रोमेलु लुकाकु, ४७ औं मिनेटमा केभिन मिराल्स, ७९ औं मिनेटमा टम डेभिज र खेल सकिन थपिएको अतिरिक्त समय ९४ औं मिनेटमा एड्मोला लुकम्यानले गोल गरे ।

म्यानचेष्टर सिटी तालिकाको पांचौ स्थानमा र एभर्टन तालिकाको सातौं स्थानमा रहेको छ । उता प्रिमियर लिगकै अर्को खेलमा लिभरपुल र म्यानचेष्टर युनाइटेडले एक–एकको बराबरी खेल्दै अंक बांडेका छन् । गएराति ओल्ड ट्राफोर्डमा २७ औं मिनेटमा मिल्नरको पेनाल्टी गोलमार्फत लिभरपुलले अग्रता लियो ।

संघर्षपूर्णमा खेलमा लिभरपुलले आफ्नो अग्रता जोगाइरह्यो । तर ८४ औं मिनेटमा जाल्टन इब्राहिमोविचले गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि दुबैतर्फ थप गोल नहुंदा दुबैले बराबरी खेल्दै अंक बांडे । लिभरपुल तालिकाको तेस्रो तथा म्यानचेष्टर युनाइटेड छैठौं स्थानमा रहेका छन् ।