August 16, 2017

आवास प्रत्येक नागरिकको अधिकार भएको राष्ट्रपतिको धारणा

काठमाण्डौ, २५ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा प्रत्येक नागरिकलाई उपयुक्त आवासको अधिकार प्रत्याभूत गरेको भन्दै कार्यान्वयनका लागि जोड गरेकी छिन् ।

शुक्रबारदेखि भृकुटीमण्डपमा सुरु ‘प्रोपर्टी एक्स्पो २०१७’ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सुन्दर आवास प्रत्येक नागरिकको अधिकार भएकाले त्यसलाई कार्यान्वयन गर्नु राज्यको दायित्व भएको बताइन् ।

देशमा घरजग्गा विहीनहरुको संख्या बढ्दै गएको र जनताको क्रय शक्ति घट्दै गएकाले जनताको आवासको अधिकार स्थापित गर्न सरकारी तथा गैर सरकारी क्षेत्रलाई आग्रह गरिन् ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उच्च गुणस्तर र आधुनिक प्रविधिको भूकम्प प्रतिरोधी घर बनाउन व्यवसायीलाई आग्रह गरे । उनले विकासका नाममा एमालेले कहिल्यै राजनीति नगर्ने समेत स्पष्ट पारे ।

नेपाल जग्गा आवास विकास संघका अध्यक्ष इच्छाराज तामाङ्ले मेला अवधिभर सुरक्षित घर र सुन्दर शहर बनाउनका लागि घरजग्गा व्यवसायीहरुसँग छलफल हुने बताएका थिए ।

आगामी चैत्र २८ गतेसम्म चल्ने उक्त मेलामा हाउजिङ, अपार्टमेन्ट, घरजग्गा, निर्माण सामग्री, बैंकिङ सेवा र अन्य प्राविधिक ज्ञान पाउन सकिने छ । मेलामा डेढ सयभन्दा बढी घरजग्गा व्यवसायीहरुको सहभागिता छ ।