April 26, 2017

आलु बिक्रीबाटै एक अर्ब रुपैयाँ बराबरको कारोबार

जगदिश खनाल / नुवाकोट, ७ पुस । नुवाकोटका किसानहरुले यस वर्ष आलु बिक्री गरेर एक अर्ब रुपैयाँ कमाउन सफल भएका छन् ।

बर्खे र हिउँदे दुई सिजनमा गरी ७२ हजार सात सय मेट्रिक टन उत्पादन भएको आलु बिक्री गरेर नुवाकोटका किसानहरुले यसवर्ष एक अर्ब भन्दा बढी रुपैयाँ रकम आम्दानी गर्न सफल भएको जिल्ला कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ ।

अघिल्लो वर्षको भन्दा यसवर्ष आलु लगाउने क्षेत्रफल र उत्पादन दुवैमा वृद्धि भएसँगै नुवाकोटका किसानहरुले आलु बिक्री गरी यसवर्षमा एक अर्ब रुपैयाँ कमाएका छन् ।

किसानहरुले व्यवसायिक रुपमा सुरु गरेको आलु खेतीको पद्धति सही रुपमा अबलम्वन गर्दा आलु मार्फत नै जिल्लामा ठूलो रकम भित्र्याउन सफल भएका छन् । नुवाकोटमा दुई सिजनमा गरी चार हजार ३ सय हेक्टर क्षेत्रफलमा आलु लगाइएको छ ।

‘अघिल्लो वर्षको तुलनामा यसवर्ष लगाउने क्षेत्रफलमा भएको वृद्धि, समयमै मल खाद्यको सहज आपूर्ति र सुहाउँदो हावापानीले आलु उत्पादनमा बृद्धि भएर एक अर्ब रुपैयाँ भन्दा बढी रकम नुवाकोटमा भित्रिएको छ ।’ डा.कमलराज गैरे, प्रमुख, जिल्ला कृषि विकास कार्यालय नुवाकोट ।

जिल्लामा यसवर्ष आलुको उत्पादनमा वृद्धि र मूल्य समेत राम्रो पाएपछि किसानहरु उत्साहित भएका छन् । स्थानीय बजारमा अहिले आलुको मूल्य एक किलोको १३  देखि १५ रुपैयाँमा कारोबार हुँदा एक किलोमा नै किसानहरुले ५ रुपैयाँसम्म नाफा कमाएका छन् ।

व्यवसायीहरु खेतसम्म नै खरिद गर्न आइरहेकाले बजारको समस्या नभएपछि उत्पादन भएको फलको मूल्य किसानहरुले खेतबारीबाट पाउने गरेका छन् ।

नगदे बालीको रुपमा आलु लगाएर राम्रो उत्पादन गर्दै आएका किसानहरुका लागि शित भण्डारणको अभावले हकदाबी मूल्य भने अझै पाउन नसकेको किसानको गुनासो छ ।

नुवाकोटको सबै स्थानमा आलु उत्पादनको लागि सुहाउँदो हावापानी भएकाले कार्डिनल, एम.एस.फोर्टी टू, जनकदेव, कुर्फिज्योती जातका आलु बढी लगाइने गरिएको छ ।

जिल्लाको चौघडा, खानीगाँउ, गणेशस्थान, नर्जामण्डप, थानसिंह, खरानीटार, बेलकोट, मदानपुरलाई आलु उत्पादनको प्रमुख क्षेत्र मानिन्छ ।