October 19, 2017

आयोगमा ऐन, कानुन आईपुगेको छैन कसरी निर्वाचन गराउने : प्रमुख निर्वाचन आयुक्त

२७ माघ, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले आयोगमा अहिलेसम्म सरकारबाट निर्वाचनसम्बन्धी कुनै पनि ऐन, कानुन नआएको स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रुमख निर्वाचन आयुक्त डा. यादवले सरकारले दिनुपर्ने निर्वाचनसम्बन्धी ऐन तथा कानुनहरु आयोगलाई नदिएको गुनासो गरेका छन् । उनले भने ‘निर्वाचन आयोगसम्बन्धी ऐन र मतदाता नामावली ऐन राष्ट्रपतिबाट प्रमाणिकरण भैसकेको छ, तर आयोगले अहिलेसम्म पाएको छैन, अनि कसरी हामीले काम गर्ने ?’

यादवले सरकारले निर्वाचनको मिति समेत अहिलेसम्म नतोकेको गुनासो पोखे । उनले भने ‘सरकारले हामीलाई निर्वाचनको लागि तयारी गर्नुहोस् भनेर पत्राचार गर्याे । हामीले त्यही पत्रको आधारमा काम गरिरहेका छौं । हामीले त्यो पत्रको जवाफ पनि कार्यविधि सहित सरकारलाई दिईसकेका छौं । सरकारले निर्वाचनको मिति तोकेको छैन् ।’

उनले निर्वाचनको मिति र स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन चाँडो भन्दा चाँडो उपलब्ध गराउनुपर्ने माग गर्दै त्यसो भएमात्रै आफूहरुले जेठभित्र चुनाव गराउन सक्ने स्पष्ट पारे ।

यादवले भने ‘२०६३ सालमा चुनाव गराउने भनेर मिति घोषणा गर्दा आयोगले त्यतिवेला चैत्र २९ गते चुनाव गराउन सक्दैनौं भनेर हामीले सरकारलाई भनेका थियौं । त्यस्तो स्थिति अहिले नआओस, संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयता धरापमा पर्न सक्छ भनेर हामी निर्वाचनको लागि तयारी अवस्थामा जुटेका छौं ।’ आगामी २०७४ माघ ७ गतेभित्रै तीनै तहको निर्वाचन गराउनुपर्ने संवैधानिक बाध्यतालाई आत्मसात गर्दै सरकारसँग आफूहरुले माँग गरेको अनुसारको सबै कुरा छिटो पाउनुपर्ने बताए ।

उनले भने ‘ऐन, कानून, मिति पाएनौं भने चुनाव हुँदैन भनेर भन्ने स्थिति नआओस हुन त सरकारले स्थानीय तह पूर्नंसंरचना आयोगको प्रतिवेदन परिमार्जन गर्ने तयारी गरिरहेको छ, दलहरुवीच चाँडो सहमति होस भन्ने हामी चाहन्छौ ।’

निर्वाचनलाई स्वच्छ, पारदर्शी, विश्वसनीय र मत वदर हुन नदिनको लागि आधुनिक भोटिङ् मेशिन उपयोग गर्ने भन्नेबारेमा समेत बहस भैरहेको जनाए ।
उनले राजनीतिक दलहरुवीच सहमति र विश्वासको वातावरण बने निर्वाचन सहज र सरल हुने बताए ।