October 23, 2017

आफ्नो नाम फेर्ने बलिउडका केही चर्चित कलाकारहरु

काठमाण्डौ, १७ चैत्र । फिल्म उद्योगमा आउनुपूर्व धेरै अभिनेताहरुले आफ्नो नाम फेर्ने गर्दछन् । आउनुहोस् बलिउडका कुन कुन कलाकारले नाम फेरे त ?

अक्षय कुमार–
नाम फेर्ने मध्ये एक नाम अक्षय कुमारको पनि पर्छ । अब आउने चलचित्र ‘नाम शबाना’ फिल्मको प्रमोशनमा जुटेका अक्षयले राजीव हरि ओम भाटियाबाट अक्षय कुमार कसरी भएँ भन्ने कहानी अन्तर्वार्तामा बताएका थिए । उनले बलिउड उद्योगसँग जोडिएको झण्डै ३० वर्षपछि नाम बदल्नुको कारण पहिलोपटक बताएका हुन् ।

एक अन्तर्वार्तामा अक्षयले भने, ‘आजसम्म कसैले मलाई नाम किन बदलेको भनेर सोधेका छैनन् । मेरो पहिलो फिल्म ‘आज (सन् १९८७)’ लाई महेश भट्टले निर्देशन गरेका थिए । त्यस फिल्ममा गौरवको नामबाट मैले ४.५ सेकेण्ड अभिनय गरेको थिएँ । एकदिन मलाई के मन लाग्यो र मैले बान्द्रा इस्ट कोर्टमा गएर नाम बदलेँ ।’

अमिताभ बच्चन–
बिग बीका पिता हरिवंशराय बच्चनले उनको नाम इंकलाब श्रीवास्तव राखेका थिए । ‘इंकलाब जिन्दावाद’ नाराबाट प्रभावित भएर उनले आफ्नो छोराको नाम यो राखिदिएका थिए । पछि प्रख्यात लेखक र उनका छिमेकी सुमित्रा नन्द पन्तको सल्लाह अनुसार, उनको नाम अमिताभ राखियो ।

रजनीकान्त–
रजनीकान्तको असल नाम शिवाजी राव गायकवाड हो । तर फिल्ममा आउनुपूर्व उनी बसका कन्डक्टर थिए । आफ्नो पहिलो फिल्म रागंगल (सन् १९७५) आएपछि निर्देशक के बालाचंदरले उनको नाम रजनीकांत राखिदिए ।

दिलीप कुमार–
मोहम्मद यूसुफ खानबाट दिलीप कुमार बन्नुको कहानी निकै रमाइलो छ । बम्बई टकिजकी मालिक्नी देविका रानीले उनलाई यो नाम व्यक्तित्वसँग नमिल्ने बताइन् । देविकाले उनलाई जहांगीर, वासुदेव र दिलीप कुमार मध्ये एक नाम रोज्न लगाइन् र उनले दिलीप कुमार रोजे ।

राजेश खन्ना–
राजेश खन्ना (सन् १९४२–२०१२) को वास्तविक नाम जतिन खन्ना थियो । उनका काका के. के. तलवार र फिल्म निर्देशक जेपी सिप्पीको सल्लाह अनुसार उनले आफ्नो नाम राजेश राखेका हुन् । सन् २०१२ जुलाई १८ मा उनको निधन भएको हो ।

ए आर रहमान–
ए आर रहमानले बायोग्राफी ‘द स्पिरिट अफ म्यूजिक’ मा कुनै एक ज्योतिषीको अनुसार आफूले नाम बदलेको बताएका छन् । ए एस दिलीप कुमारको नाम ए आर रहमान एक हिन्दू ज्योतिषीले राखिदिएका थिए ।