August 17, 2017

आधाभन्दा बढि महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै खाडी मूलुक पुग्छन्

काठमाण्डौ, १७ चैत्र । नेपाली महिलालाई काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भिजिट भिसा मिलाएर खाडीका विभिन्न मूलुकमा पठाइने गरेको पाइएको छ ।

व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय श्रम सम्बन्ध तथा मानवअधिकार समितिले गरेको अध्ययनले विमानस्थलमै प्रक्रिया मिलाएर अवैध रुपमा नेपाली महिलालाई खाडी मुलुकमा पु‍र्‍याइने गरेको देखाएको हो ।

समिति अन्तर्गत गठित अनुगमन उपसमितिले खाडी मुलुकमै पुगेर गरेको अध्ययनले खाडी मुलुकमा पु‍र्‍याइएका महिलामध्ये ६० प्रतिशतभन्दा बढी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्रिया मिलाएर पु‍र्‍याएको देखिएको हो ।

उपसमितिले बिहीबार समितिलाई प्रतिवेदन बुझाउँदै बाँकी ४० प्रतिशत महिला भने भारत, श्रीलंका, चीनलगायतका देशको बाटो हुँदै खाडी मुलुक पु‍र्‍याइएर घरेलु कामदारमा रुपमा लगाउने गरेको जनाएको छ ।

उपसमितिले महिलालाई गाडीको डिकीमा समेत राखेर ओसारपसार गर्ने गरेको पाइएको जनाएको छ । त्यसरी गैरकानुनी काम गर्नेहरुको पहिचान भने हुन नसकेको ठहर समितिले गरेको छ ।

तर महिलालाई खाडी मुलुकसम्म पु‍र्‍याएर गैरकानुनी क्रियाकलापमा लगाउन उच्च राजनीतिक तहकै संलग्नता हुन सक्ने आशंका उपसमितिले गरेको छ । बैठकमा समिति सदस्यहरुले श्रमसम्बन्धी कानुन निर्माण भएपनि पिडितलाई भने कुनै हित नभएको धारणा राखेका थिए ।

उपसमितिले नेपाली कामदारसँग वैदेशिक रोजगारीमा जानुअघि गरिएको श्रम सम्झौता बमोजिम तलब र सुविधा नदिने गरिएको र एउटा कामका लागि भनेर लगिएकाहरुलाई अर्कै काममा लगाउने गरेको पाइएको जनाएको छ ।