August 22, 2017

आज महाशिवरात्री, देशभर धुमधामसंग मनाइदै

काठमाण्डौ,१३ फाल्गुन । आज फाल्गुण कृष्ण चतुर्दशी अर्थात् महाशिवरात्री पर्व । हिन्दु धर्मावलम्बी श्रद्धालुहरूले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा–आराधना गरिरहेका छन् ।

आज बिहानै नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धापूर्वक पूजा–आराधना गर्ने परम्परा रहेको छ । काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर, सिन्धुलीको कुशेश्वर र सिन्धुपाल्चोकको फटकेश्वरलगायत शिवालयमा दर्शनार्थीको घुइचो लागेको छ ।

पशुपतिनाथको दर्शन गर्न मुलुकका विभिन्न भागका साथै छिमेकी राष्ट्र भारतबाट समेत तीर्थयात्री काठमाडौं आइपुगेका छन् । भगवान् शिव उत्पत्ति हुनुभएको रातका नामबाट आजको दिनको नाममा महाशिवरात्रि नामकरण भएको पुराणहरूमा बताइएको छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको प्यारो दिनका रूपमा लिइन्छ । महाशिवरात्रीमा झण्डै १३ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।