June 26, 2017

आज फागू पूर्णिमा, पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ हाेली मनाइदै

काठमाण्डौ २९ फाल्गुन । आज फागू पूर्णिमा, पहाडी जिल्लाहरुमा होली खेलेर हर्षोल्लासका साथ मनाइदैछ ।

आज काठमाडौसहित पहाडी जिल्ला र भोलि भित्रि मधेसहित तराईका जिल्लामा होली मनाइने छ । फागुन शुक्ल पूर्णिमाका दिन प्रत्येक वर्ष मनाइने रङहरुको चाड फागुपूर्णिमा विभिन्न प्रकारका रङ प्रयोग गरी एक–अर्कालाई रंग दलेर मनाउने गरिन्छ ।

फागुपूर्णिमाका दिन बालबच्चादेखि बृद्धबृद्धासम्मले होलीको मजा लिने गर्छन् । होलीलाई पुरानो दुस्मनी बिर्सेर एक–आपसमा खुसी साट्ने पर्वका रूपमा समेत मनाइने गरिन्छ ।

होलीको दिन अप्रिय घटना नहोस भनेर काठमाडौं उपत्यकासहित मुलुकका प्रमुख शहरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रहरीले मादकपदार्थ सेवन तथा जथाभावी सवारी चलाउन नगर्न अनुरोध गर्दै चेकजा“च कडा पारेको छ ।

काठमाडौंको वसन्तपुर दरबारअगाडि फागुन शुक्ल अष्टमीको दिन लिंगो गाडेपछि होली सुरु भएको मानिन्छ ।

होली पर्व पूर्णिमाको दिन राति लिंगो ढालेर जलाएपछि सकिएको मानिन्छ । त्रेतायुगमा हिरन्यकश्यप नामक दानवले आफनै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफनी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए ।

भगवान विष्णुको प्रतापले प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भनें सो अग्निमा जलेर नष्ट भएको किम्बदन्ती होली पर्वसंग जोडिएको छ ।