October 18, 2017

आज देखि २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक

काठमाण्डौ, १८ फाल्गुन । सरकारले काठमाडौं उपत्यकामा २० वर्ष पुराना सवारी साधन सञ्चालनमा आजदेखि रोक लगाएको छ ।

यातायात व्यवस्था विभागले वातावरण प्रदुषण तथा ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै पूराना सवारी सञ्चालनमा आजदेखि रोक लगाउने निर्णय गरेको हो ।

बिभागले पुराना सवारी साधनको संचालनमा रोक लगाएपनि कार्यान्वयनमा अन्योल देखिएको छ ।  कार्यान्वयनकारी निकाय ट्राफिक प्रहरीले पनि यसवारे आफुलाई स्पष्ट निर्देशन प्राप्त नभएको जनाएको छ ।

आफूहरुलाई कुन कुन सवारी २० बर्ष पुगेका हुन् भनी पहिचान गर्नका लागि विभागबाट आवश्यक कागजात प्राप्त भइनसकेको भन्दै ट्राफिकले कुन आधारमा अघि बढ्ने भन्ने अन्योल रहेको जनाएको छ । विभागले यसअघि नै पुराना सवारीको कर तिरेर कवाडी बनाउन सम्बन्धित सबैलाई अपिल गरेको थियो ।

पुराना सवारी चलाएको भेटिए नियन्त्रणमा लिएर सम्बन्धित सवारी धनीलाई पनि कारवाही गर्ने विभागले बताएको छ । विभागका अनुसार उपत्यकामा मात्र २ हजार ५ सय देखि ३ हजारको संख्यामा २० वर्ष पुराना  सवारीसाधन छन् ।