October 18, 2017

आजबाट भक्तपुरमा बिस्केट जात्रा सुरु हुदै

मोहन बल्ल /भक्तपुर,२८ चैत्र । आठ रात ९ दिनसम्म मनाइने बिस्केट जात्रा आजबाट भक्तपुरमा सुरु हुदैछ ।

नववर्षको आगमनसँगै सुरु हुने भक्तपुरको प्रसिद्ध साँस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्केट जात्रा विशेषगरि नेवारी समुदायको प्रमुख पर्वको रुपमा रहेको छ । बिस्केट जात्रा यो वर्ष चैत २८ गते अर्थात आजबाट सुरु हुदैछ ।
काठमाडौ उपत्यकाको विभिन्न जात्राहरु भन्दा फरक खालको महत्व राख्ने बिस्केट जात्राको पहिलो दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिन्छ । चैत्र मसान्तका दिन बिहान तालाक्वस्थित कुमाले टोलमा हात नभएको लिङ्गो र साँझपख योसिंखेल (भेलुखेल) मा बाजागाजा सहित शास्त्रोत्त विधि अनुसार पूजा गरि ५५ हाते लामो लिङ्गो उभ्याईन्छ । पुरानो वर्षको बिदाई र नयाँवर्षको आगमनको पूर्व सन्ध्यामा लिङ्गो उभ्याउने प्रचलन रहेको छ ।

यसैबीच आज बिहान बिस्केट जात्रा शान्तिपूर्ण होस् भनी सद्भाव र्याली निकालिएको थियो । सद्भाव र्याली बिभिन्न संघ संस्था, टोल समिति, सरकारी निकाय, स्थानियहरु र प्रशासनको सहभागी थियो । उक्त र्याली भक्तपुरको टौमढीबाट सुरु भई बिभिन्न टोलबजार परिक्रमा गरेर टौमढी (पाँचतले मन्दिर अगाडि) पुगेर समापन भएको हो । बिस्केट जात्रा आज बेलुका ५ बजे पाँचतल्ले मन्दिर अगाडि टौमढीबाट भैरवको रथ तानेर यस पालीको बिस्केट जात्रा सुरु हुने छ ।

आज द्यो क्वहँबिज्याईगु अर्थात देउता तल आउने भएकोले रथको अगाडिको बेताल तलतर्फ अर्थात पश्चिमपट्टि फर्काएर तान्ने चलनअनुसार अगाडि पट्टि चार वटा र पछाडी पट्टि तीन वटा डोरी राखेर रथलाई अगाडि पछाडि गरेर तानिन्छ र यसरी तानेर रथलाई गहितीमा लगेर आजको जात्रा समापन गरिने चलन छ ।