August 20, 2017

आजबाट इजाजतपत्र बिना सूर्तीजन्य उत्पादन बिक्रीवितरण गर्न नपाइने

काठमाण्डौ, चैत १ । सरकारले धुम्रपान तथा सुर्तीजन्य उत्पादन इजाजत लिएका पसलबाट मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था आजदेखि लागू गरेको छ ।

माघ ६ मा बसेको मन्त्रिपरिषद्को बैठकले यसको सेवनले जनताको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको जनाउँदै स्वास्थ्य मन्त्रालयले पेस गरेकोे प्रस्ताव स्वीकृत गरेको थियो।

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा ११ (६) मा सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्था छ ।

फागुन मसान्तभित्र दर्ता गर्ने निकायमा दर्ता नभई र इजाजतपत्र नलिई सुर्तीजन्य पदार्थको कारोबार गरेको पाइएमा ऐनबमोजिम कारबाही हुनेछ ।

पसलमा स्पष्ट देखिने गरी १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई सूर्तीजन्य पदार्थ नबेचिने  तथा गर्भवतीलाई सूर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने सूचना टाँस्नुपर्नेछ ।

यसअघि यस्ता वस्तुको खुल्ला बिक्रीले आमजनताको स्वास्थ्यमा गम्भीर असर परेको भनी बिक्रीवितरण व्यवस्थित गर्न मन्त्रालयमा गुनासो आइरहेको थियो ।