July 26, 2017

आजको संसद बैठक स्थगित

काठमाण्डौ १० फाल्गुन । आजका लागि बोलाईएको ब्यवस्थापिका संसदको बैठक सूचना टासेर स्थगित भएको छ ।

संविधान संशोधन विधेयकको बिरोधमा रहेको एमाले र विधेयक अगाडि बढाउनु पर्ने मधेशी मोर्चा आवद्ध दलहरुको अडानका कारण बैठक सूचना टासेर स्थगित गरिएको हो । अर्को बैठक बुधबार दिउसो २ बजे बोलाइएको छ ।

कार्यब्यवस्था परामर्श समितिको आज बसेको बैठकमा सभामुख ओनसरी घर्ती र मुख्य ८ दलका प्रमुख सचेतक सहमतिका लागि भन्दै एक दिन बैठक स्थगित गर्न सहमत भएका हुन् । स्थानीय निर्वाचन र त्यसका लागि आवश्यक राजनीतिक वातावरण निर्माणका लागि भन्दै संसद बैठक १६ दिनका लागि स्थगित भएको थियो ।

विधेयकलाई कार्यसूचीमा राखे एमालेले बिरोध गर्ने र नराखे मधेशी मोर्चाले आपत्ति जनाउने भएकाले संसद बैठक नै भोलीसम्मका लागि स्थगित गर्ने सहमति जुटेको संसद सचिवालयले जनाएको छ ।

निर्वाचन मिति घोषणापछिको अवस्था र संविधान संशोधन विधेयकबारे सहमति खोज्ने पहल स्वरुप प्रमुख दलहरुको बैठक आज
बस्नेछ । एमालेले समेत प्रतिपक्षी ९ दलीय मोर्चामा छलफल गरेर धारणा तय गर्ने बताएको छ ।