October 23, 2017

आगोको लप्का सहित धुवाँको मुस्लो उडेपछि विराटनगर विमानस्थलमा दुई घण्टा उडान ठप्प

उद्धव घिमिरे

विराटनगर, १६ चैत्र । विराटनगर विमानस्थलमा आगोको लप्का सहित धुवाँको मुस्लो उडेपछि बुधबार मध्यान्ह विमानस्थल करिब दुई घण्टा ठप्प भएको थियो ।

आगोको लप्का सँगै कालो धुवाँको मुस्लोले आकाशनै ढाकेको थियो । धुवाँको मुश्लो भए तिर दमकल र एम्बुलेन्स साइरन बजाउँदै हुँइकिरहेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पनि सँगै दौडि रहेका थिए । एयरपोर्टको साइरनले आपत्तकालिन अवस्थाको सँकेत गरिरहेको थियो । मान्छे चिच्याइरहेको आवाज आयो । विमानास्थलका कर्मचारीहरु हस्याङ र फस्याङ गर्दै दौडिए ।

ठुलो हल्लाखल्ला भए पछि रेडक्रसकर्मी तथा पत्रकारहरु पनि दौडिदै त्यतै तिर गए । त्यहाँ पुग्दा विमानास्थलको पूर्व उत्तर कुनामा आगो दनदनी बलिरहेको थियो । दुई वटा दमकलले फोम भएको पानी हालेर आगो निभाउँदै गरेका थिए । सेना, प्रहरीहरुले घाइतेको उद्धार गरिरहेका थिए । रेडक्रसकर्मीहरु आपत्तकालीन उद्धारका सामाग्री सहित प्राथमिक उपचार गरिरहेका थिए । जो कसैलाई लाग्थ्यो त्यहाँ जहाज दुर्घटना भएको हो ।

तर त्यहाँ जहाज दुर्घटना नभएर जहाज दुर्घटना हुँदा आइपर्ने संकट ब्यवस्थापन कसरी आगो निभाउने, उद्धार तथा प्राथमिक उपचार गर्ने र गम्भिर घाइतेलाई अस्पताल कसरी पठाउने भनेर प्रदर्शनीको परिदृष्य अभ्यास भईरहेको थियो । यो कार्य विमानास्थलले प्रत्येक दुई दुई वर्षमा गर्दै आइरहेको छ ।

विमानास्थलका सुरक्षा ब्यवस्थापन शाखा प्रमुख एवं प्रवक्ता सन्तोष ढकालले विराटनगर नागरिक उड्डयन कार्यालयले पूर्व योजनाकासाथ विमानास्थल संकटकालिन योजनाको पूर्णकालिन अभ्यास गरेको बताए ।

उनले झापाको चन्द्रगढीबाट काठमाण्डौका लागि उडेको जहाज विराटनगर कटेपछि अचानक बायाँ इन्जीनमा खरावी आएपछि फोर्स ल्याण्डिङ गर्ने क्रममा दुर्घटना भएको प्रदर्शन गरिएको बताए ।

जहाज दुर्घटनामा परेको अभ्यासका लागि सुरक्षाकर्मीले नै खाल्डो खनेर हवाई इन्धन राखि आगो लगाएका थिए ।

अभ्यासकोलागि मध्यान्ह ११ वजेदेखि १ वजेसम्म सबै उडान ठप्प भएका थिए ।
अभ्यासका लागि विराटनगर नागरिक उड्ययन कार्यालयले जहाज कम्पनीहरुलाई अगाडी नै जानकारी गराएको प्रवक्ता ढकालले बताए ।