तीन खेलपछि गुजरातको पहिलो जित

काठमाण्डौ, २ वैशाख । भारतमा जारी इण्डियन प्रिमियर लिग आइपिएलमा गुजरात लायन्सले पहिलो जित दर्ता गरेको छ ।

आइपिएल अन्तर्गत गए राति राइजिङ पुने सुपरजायन्टलाई सात विकेटले हराउँदै गुजरातले पहिलो जित दर्ता गरेको हो । १ सय ७२ रनको लक्ष्य गुजरातले खेल सकिन दुई ओभर अगावै तीन विकेटको नोक्सानमा भेट्टायो ।

गुजरातको जितमा ब्राण्डम म्याकलमले ४९ तथा ड्वेन स्मिथले ४७ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुनेले निर्धारित बीस ओभरमा आठ विकेट गुमँएर १ सय ७१ रन बनाएको थियो ।

उसका लागि कप्तान स्टेभेन स्मिथले ४३ तथा राहुल त्रिपाठीले ३३ रन बनाए । बलिङतर्फ गुजरातका एन्ड्रयु टेले ह्याट्रिकसहित पाँच विकेट लिए । म्यान अफ द म्याच टेले चार ओभर बलिङ गर्दै १७ रन खर्चिएर पांच विकेट लिएका हुन् । जारी प्रतियोगिताको यो दोस्रो ह्याट्रिक हो ।

यसअघि सम्पन्न खेलमा मुम्बई इण्डियन्सविरुद्ध रोयल च्यालेञ्जर्स बेङ्लोरका स्यामुयल बद्रीले प्रतियोगिताकै पहिलो ह्याट्रिक लिएका थिए ।

प्रतियोगिता अन्तर्गत आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद तथा दिल्ली डेयर डेभिल्स र किंग्स एलाभेन पञ्जाबबीच प्रतिस्पर्धा हुनेछ ।