October 22, 2017

आईतबारको बैठमा देउवा र पौडेल अामने सामने हुने

काठमाण्डौ, १३ चैत्र । लामो समयपछि आइतबार बस्न लागेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा संविधान संशोधन र निर्वाचनले भन्दा सभापति शेरवहादुर देउवाको एकवर्षे सुस्त कार्यकालले बढी प्राथमिकता पाउने देखिएको छ । पार्टी नेतृत्व सम्हालेर काम गर्न थालेको एक बर्ष पुरा भएकै बेला बस्न लागेको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल समूह देउवाको काम गर्ने शैलीलाई लिएर बढी नै आक्रामक बन्ने तर्खरमा छ ।

कोइराला परिवारबाट देउवाले पार्टी नेतृत्व लिएर काम गर्न थालेको चैत ५ देखि एक बर्ष वितेको छ । तर, यो अवधिमा विधानतः दुई महिनाभित्र सम्पन्न गर्नुपर्ने पार्टी केन्द्रीय कार्यसमितिमा २१ सदस्य मनोनयन, उपसभापति, महामन्त्री र सहमहामन्त्री नियुक्ति, विभाग, कार्यसम्पादन समिति, संसदीय समितिलगायत पार्टी संरचनालाई पूर्णता बनाउने काम देउवाले गर्न सकेनन् ।

देउवा आफैले प्रतिबद्धता गरे अनुसार नियमित केन्द्रीय कार्यसमितिको बैठक समेत राख्न सकेनन् । एक बर्षमा उनले महासमिति बैठक राख्ने प्रतिबद्धता समेत गरेका थिए । तर आईतबारको बैठकमा उनले केन्द्रीय कार्यसमितिको मर्यादा क्रमअनुसार २२ जनालाई कार्यसम्पादन समितिमा राख्ने प्रस्ताव गर्ने भएका छन । विभाग प्रमुख तोक्ने तयारी उनको छ ।

कांग्रेस महामन्त्री सशांक कोइरालाले पार्टी संगठनको प्रतिवेदन र प्रस्तावहरु तयार गर्नसमेत कठिनाई परीरहेको जनाउँदै देउवा सभापति चुनिएको केही दिनबाटै आग्रह गर्दै आएका हुन । तर, देउवा आफ्नो नेतृत्वमा सरकार नबनाउँदा सम्म मनोनित उपसभापति, महामन्त्री र सहमहामन्त्री नबनाउने मुडमा देखिन्छन ।

केन्द्रीय सदस्य बलवहादुर केसीले पार्टीलाई विधान र विधिसम्मत ढंगले नभएर सभापतिले आफ्नो अनुकुलतामा पार्टी चलाएको बताए । यहिँ बिषयलाई आफूहरुले गम्भिर ढंगले उठाउने तयारीमा रहेको केसीले बताए । त्यसअतिरिक्त न्यायाधिश, प्रहरी महानिरीक्षक र राजदूत नियुक्तिमा पार्टीभित्र छलफल नभएको आक्रोश पनि पौडेल पक्षको छ । आईजीपी नियुक्ति र राजदूत नियुक्तिले पार्टीको साख नै विगारेको ठम्याईमा पौडेल पक्ष पुगेको छ । पार्टी सभापतिकै दबावमा जयवहादुर चन्दलाई आईजीपी बनाउन दबाव दिनु र मेनपावर संचालकलाई राजदूत बनाउने सिफारिस गर्नुले पार्टीको साख गुमेको उनले बताए ।

‘अहिलेको सत्ता समीकरणमा माओवादी केन्द्र, कांग्रेस र राप्रपा छ । मोर्चाका साथीहरुले समर्थन फिर्ता लिएका छन । यस बीचमा कुराहरु पाकीरहेका छन्’, केसीले थपे,‘सत्तासमिकरणनै बदल्ने कुरा भईरहेको छ । निर्वाचन हुन्छ कि हुन्न भन्ने बिषय प्रवल छ । यी बिषयलाई पनि कांग्रेसले कसरी लिने भन्नेबारेमा हामी छलफल गर्छौँ ।’

देउवा निकट केन्द्रीय सदस्य एनपी सावद् भने पार्टीको आन्तरिक बिषयमा भन्दा समसामयीक र राष्ट्रिय एजेण्डामा बैठकमा छलफल हुने दावी गरे । उनका अनुसार आईतबारको बैठकमा कार्यसम्पादन समितिको घोषणा हुनेछ ।

स्थानीय तहको निर्वाचनको घोषणापत्र बनाउन समिति गठन, विभागको आवश्यक संख्या, निर्वाचन परिचालन सम्वन्धी बिषयलगायतले ठाउँ पाउनेछन । पार्टी संरचना र विधानलाई प्रादेशिक संरचना अनुसार समायोजना गरिनेछ । ‘स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट तय गर्नुपर्ने उम्मेदवारको मापदण्ड र उम्मेदवार तोक्ने बिषयमा पनि छलफल केन्द्रित हुने उनको भनाई छ ।

पौडेल पक्षकै अर्का केन्द्रीय सदस्य रमेश रिजालले केन्द्रीय कार्यसमितिको बैठकमा मन नपरेका बिषयलाई उठाउनु स्वभाविक भएको बताए । ‘पार्टीभित्र छलफलमा सवै बिषय नै आउँछन, सभापतिको पार्टी संचालनको बिषयलाई लिएर असन्तुष्टी पनि आउँलान । यसलाई अन्यथा लिन हुन्न ।’ यो खबर अजाको कान्तिपुरमा छ ।