आईजीपी नियुक्ति बिवादको फैसला मंगलबार हुने

काठमाण्डौ, ७ चैत्र । नेपाल प्रहरीको महानिरीक्ष कसलाई बनाउने भन्ने बारे मंगलबार फैसला हुने भएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्की सहितको पूर्ण इजालासले सरकारको निर्णय विरुद्ध परेको रिटमा सोमबार अन्तिम सुनुवाई गरेको छ तर फैसला भने मंगलबार मात्र सुनाइने सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले बताए ।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबादुर कार्की, तुलसी भट्ट तथा अधिवक्ता भीमार्जुन आचार्य लगायतले बहस गरेका थिए । सरकारले फागुन १ गते जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

चन्द महानिरीक्षकमा नियुक्त हुनुभन्दा अगाडि नै अधिवक्ता कपिलदेव ढकालले सरकारी निर्णय राजनीतिक हस्तक्षेपबाट प्रेरित र प्रचलित ऐन कानुन विपरित रहेको भन्दै रिट दायर गरेका थिए । रिटको प्रारम्भिक सुनुवाई गर्दै प्रधानन्यायाधीश सुशील कार्कीको इजलासले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

वरियाताक्रममा पहिलो नम्बरमा रहेका डिआईजी नवराज सिलवाले पनि महानिरीक्षकमा आफू योग्य रहेको भन्दै सरकारको निर्णय बदरको माग गर्दै रिट दायर गरेका थिए ।

दुईवटा विषय एउटै भएकाले अधिवक्ता ढकाल र डिआईजी सिलवालले दायर गरेको रिटमा सँगसँगै सनुवाई गरिएको छ ।