October 24, 2017

अाैद्योगिक क्षेत्र हड्तालमुक्त गर्न मुरारकाकाे माग

खग प्रसाद चापागाई/ कपिलवस्तु, ११ चैत्र । उद्योग वाणिज्य क्षेत्रलाई बन्द हड्तालमुक्त क्षेत्र बनाउन पहल गरिदिन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले राजनैतिक दलहरुसँग आग्रह गरेका छन् ।

तौलिहवा उद्योग वाणिज्य संघको आयोजनामा तौलिहवामा शुरु भएको चौथो प्राचीन कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै अध्यक्ष मुरारकाले यसो भनेका हुन् ।

उद्योगी व्यवसायीले चाहेर मात्रै आन्दोलनरत राजनैतिक दलको मागहरु पुरा हुन नसक्ने भन्दै उद्योग वाणिज्य क्षेत्रलाई राजनीतिबाट टाढा राख्न आग्रह गरेका हुन् ।

सो अवसरमा अध्यक्ष मुरारकाले सरकारले उद्योग व्यवसाय संरक्षण नीति लिए एक दशक भित्रै मुलुकको व्यापार घाटा कम गर्न नेपालको उद्योग वाणिज्य क्षेत्र सक्षम रहने पनि बताए ।

चौथो प्राचीन कपिलवस्तु महोत्सवमा उद्योग, कृषि, पर्यटन, व्यापार लगायतका करीब १ सय ५० बढी स्टलहरु रहने आयोजकले जनाएको छ ।

महोत्सव अवधिभर कपिलवस्तु जिल्लाका विभिन्न पुरातात्विक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा जोड दिइने तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले बताए ।