अाेली र प्रचण्डद्वारा हस्ताक्षरित ६ बुँदे एकता घोषणापत्र जारी गर्दै घोषणा भयो ‘नेपाल कम्युनिस्ट पार्टी’

काठमाण्डौ ३ जेठ । नेपालका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच एकता भई ‘नेपाल कम्युनिष्ट पार्टी’ गठन भएको छ ।

बिहीबार काठमाडौको राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गर्दे पार्टी एकताको घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा अध्यक्षहरु केपी शर्मा अाेली र पुष्पकमल दाहाल प्रचण्डद्वारा हस्ताक्षरित ६ बुँदे एकता घोषणापत्र जारी नेपाल कम्यूनिष्ट पार्टीकाे घोषणा गरियो । आफूहरुको लक्ष्य जनतालाई सुखी र समृद्ध बनाउने  नेताहरुले बताएका छन् । एकतापछि पार्टीको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहनुभएको छ भने सचिवालय ९ सदस्यीय बनाईएको छ ।

नयाँ पार्टीको बरियताक्रममा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहनुभएको छ भने नारायणकाजी श्रेष्ठलाई प्रवक्ता र बिष्णु पौडेललाई महासचिवको जिम्मेवारी दिइएको छ ।

एकीकृत पार्टीको स्थायी कमिटी ४५ सदस्यीय बनाईएको छ भने ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनाईएको छ । पत्रकार सम्मेलनमा नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अब आफ्नो पार्टीले तीन चौथाइ मत ल्याउने दाबी गर्नुभयो । उहाले आज एकताको बिरोधमा कोही नभएको उल्लेख गर्दै आफ्नो दल जनताका लागि भएको धारणा राख्नुभयो ।

ओलीले वैधानिक हिसावले कांग्रेस प्रतिपक्ष भएपनि गुण र दोषका आधारमा राष्ट्र निर्माणको महाअभियानमा सहभागी हुन आग्रहगर्नुभयो । तानाशाहीका लागि एकता आवश्यकता परेको नभई देश बनाउने संकल्पका लागि एक भएको उहाको भनाई छ ।

त्यस्तै नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष मध्येका अर्का अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीहरुको फुटको इतिहासमा क्रमभंग भएको भन्दै अब कम्युनिष्ट पार्टी नफुट्ने बताउनुभयो । प्रचण्डले जनतामाझ गरेको पार्टी एकताको प्रतिवद्धता पूरा गरेको भन्दै अब एकता पछाडिको मिसन पूरा गर्न बाँकी रहेको बताउनुभयो । उहाँले एकता गर्नुको पछाडि सामाजिक न्याय सहितको आर्थिक समृद्धिसहितको समाजवाद ल्याउने मिसनमा अगाडि बढेको समेत बताउनुभयो ।

एकताका क्रममा नेकपा एमालेले जनताको बहुदलीय जनवाद तथा नेकपा माओवादी केन्द्रले २१ औं शताब्दीको जनवादको बहस चलाएको थियो । एकतापछि दुवै बिचारलाई आगामी महाधिवेशनमा लैजाने सहमति भएको छ ।