June 24, 2017

अाेलीले भने – ‘बुहारी र ज्वाई भित्र्याएर नेपालीलाई अपमान गर्ने मधेसी दल नेपालीका प्रतिनिधी हाेइनन’

नरेश के.सी
भैरहवा, २९ फाल्गुन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बुहारी र ज्वाई भित्र्यााएर स्वाभीमानी नेपालीहरुलाई अपमान गर्न खोज्ने मधेसी दल नेपालीका प्रतिनिधी हुन नसक्ने बताएका छन ।
नेकपा एमाले देश बचाउन र देश बनाउन दृढ संकल्पित भएको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
मेची महाकाली जागरणसभालाई आईतबार भैरहवामा सम्बोधन गर्दै ओलीले एमालेले देश विगार्नेगरी ल्याएका कुनै पनि संशोधनलाई स्वीकार नगर्ने बताए ।
उनले भने ‘संविधान बनाउने बेला सदन भित्र र बाहिर गरेर खुरुखुरु हस्ताक्षर गरेर भत्ता बुझ्ने, समितिका सभापति बनेर सुविधा लिने नकचरोको पनि हद हुन्छ ।” मधेसीलाई विभेद गरियो भनेर चिच्याउने मधेसी मोर्चा भनिनेहरुका मागलाई कदापि स्वीकार गर्न नसकिने बताए ।
मधेसी मोर्चाको नाममा जनतालाई ठग्ने काम भएको, संविधानमा के छ जनतालाई नबताउने मधेसी मोर्चाले सबै किसिमको सुविधा लिने तर संविधान मानेको छैन भन्दै हिँड्ने भन्दै मधेसी दलहरु प्रति आरोप लगाए । नयाँ शक्ति पार्टीप्रति ब्यङ्ग गर्दै ओलीले भने, “पछिल्लो समय एउटा नयाँ शक्ति भन्ने भ्रष्ट बुद्धिजीवीहरुले एमालेमुक्त नेपाल भनेछन् उनीहरुलाई कसले बुद्धि दिएछ भनेर प्रश्न गरे । अध्यक्ष अाेलीले मन्तव्यकाे अधिकाँश समय मधेसी माेर्चाका नेताहरुकाे अालाेचनामा खर्चेका थिए ।

सोही सभालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष वामदेव गौतमले २०७४ माघ ७ गतेसम्म तीनवटै तहको निर्वाचन गर्नु मुख्य जिम्मेवारी भएको माथि जोड दिए । उनले भने “७ दशकको संघर्षबाट प्राप्त भएको संविधान कार्यान्वयन गर्न माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन गर्नु जरुरी छ । यदि कसैले यो निर्वाचनलाई रोक्न खोज्छ भने त्यस्तालाई तत्काल जेल हाल्नु पर्दछ ।
सप्तरीमा आफ्नो ज्यानको बाजी लगाएर शीर्ष नेताको ज्यान जोगाउने सुरक्षा अधिकारीलाई सरकारले कारबाही गर्नु अत्यन्तै गलत भएको बताए । ‘रौतहटमा माओवादीका २९ जना नेता कार्यकर्तालाई भालाले घोची घोची मारेजस्तै सप्तरीमा एमालेको शीर्ष नेतृत्वलाई सखाप गर्न खोज्ने मधेसी मोर्चाको आवरणमा रहेका अपराधीलाई तत्काल कारबाही गर्न माग गर्दछु’ गौतमले भने
सभामा एमाले नेता रघुवीर महासेठले मधेसीलाई खस शासकले हैन मधेसी मोर्चाले शोषण गरिरहेको तर्क गर्दै भने “मधेसी मोर्चा बाहिरबाट परिचालित शक्ति हो । संविधान संशोधन कदापी हुँदैन । अंगीकृत नागरिकता जथाभाबी बाँड्ने हो भने मुलुक धरासायी हुन्छ । संसारमा नागरिकता प्राप्तिको लागि सबैभन्दा सजिलो देश नेपाल हो । यहाँ त अहिले बिहान बिहे गर्ने, दिउँसो नागरिकता लिने र साँझा मन्त्री बन्ने काम भैरहेको छ । यसलाई तत्काल रोक्नुपर्दछ ।

महासेठले पहाडिया समुदायबिनाको मधेस, मधेसबिनाको नेपाल र एमालेबिनाको सरकारको कल्पना गर्न सकिँदैन भनेर आफूले ०६२ सालमा राजविराजमा दिएको नारा सार्थक हुँदै आएको पनि तर्क गरे ।

उक्त सभामा एमाले नेता तथा सांसद आदित्यनारायण कसौधनले एमाले मधेसी, पहाडी र हिमालीको पार्टी भएको जनाउँदै भने “यो भैरहवा मेरो कर्मथलो, जहाँ बुद्ध जन्मे । यो ठाउँमा एमालेको शीर्ष नेतृत्व आएर सामाजिक सद्भाव र शान्तिको लागि यति ठूलो सभा सम्पन्न गर्दैछ । यो आफैमा गौरवको कुरा हो ।”

सभामा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, महासचिव ईश्वर पोख्रेल, उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुषाल, सचिवहरु प्रदिप ज्ञवाली, योगेश भट्टराई लगायत शीर्ष नेतृत्वको उपस्थिति रहेको थियो ।