अाज सेना दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाण्डौ १ फाल्गुन । मुलुकको प्रमुख सुरक्षा अंगकारूपमा रहेको नेपाली सेनाले शिवरात्रिका अवसरमा आज सेना दिवस मनाउँदैछ ।

सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा आज अपरान्ह सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइ तथा सैनिक कला प्रदर्शनीमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन ।

नेपाली सेनाले दुई दशक अघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउंदै आएको छ । सैनिक मञ्चमा सैनिक सामग्रीको प्रदर्शनीदेखि परेड, प्यारा जम्प, कवाज तथा तोप बढाइँसम्मका विविध कार्यक्रम हुनेछन ।

नेपाली सेनाको ब्यान्डले भारतीय र बेलायती सेनाको गोर्खा ब्यान्डसँग मिलेर संयुक्त रूपमा गीति नाट्य प्रस्तुत गर्नुका साथै उक्त कार्यक्रम समापनको अवसरमा आतशवादीसमेत गरिने छ ।

उक्त समारोह अपराह्न ५ बजे सुरु भई करिब सा“झ ७ बजेसम्म चल्ने छ । नेपाल एकीकरणको २५० वर्षगाँठका सन्दर्भमा हुन लागेको समारोहमा विशेष अतिथिका रूपमा भारतीय सेनाध्यक्ष विपीन रावतलाई आमन्त्रण गरिएको छ ।

सेनाध्यक्ष रावत नेपाली सेनाको मानार्थ महारथी हुनुहुन्छ । सैनिक मुख्यालय जङ्गी अड्डा मातहतका पृतना, बाहिनी, गण, गुल्ममा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना हुनेछन ।