Breaking News

अाज महाशिवरात्रि देशभर मनाइँदै

काठमाण्डौ १ फाल्गुन । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा भगवान शिवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाइदैछ । शिव उत्पती भएको दिनका रुपमा शिवरात्रि मनाउने परम्परा छ ।

मध्यरातमा चतुर्दशी परेका दिन महाशिवरात्रि पर्व मनाउने शास्त्रीय विधान रहेको छ । वैदिक सनातन धर्मावलम्बीले वर्षमा मनाउने चारवटा रात्रिमध्ये शिवरात्रि पनि एक हो ।

शिवले अवतार लिएको रातलाई नै शिवरात्रि भन्ने गरिएको विश्वास गरिन्छ । भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीलाई मोहरात्रि, असोज शुक्ल अष्टमी र नवमीको रातको सन्धिलाई कालरात्रि तथा तिहारको लक्ष्मीपूजाको रात्रिलाई सुखरात्रिका रुपमा मनाउने परम्परा हिन्दू धर्मावलम्बीमा छ ।

आज द्वादश ज्योतिर्लिङ्गको पनि शिर मानिने काठमाडौंको पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको भीड लागेको छ । पशुपतिमा दर्शनार्थीको रातिदेखि नै भिड लागेको छ ।

पशुपति क्षेत्र विकास कोषले भक्तजनहरुलाई पशुपति परिसरमा पुगेको आधा घण्टा देखि ४५ मिनेट भित्रै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाईएको जनाएको छ । मन्दिरका चारवटै ढोका खोलि खोलिएको छ ।

दर्शनार्थीको भीड लागेपछि प्रहरीले पशुपति आसपासको सडकमा बिहानैदेखि यातायात चल्न दिएको छैन । बिहान ४ बजेदेखि नै पुरानो बानेश्वर, गौशाला, जयवागेश्वरी, मित्रपार्क, पिंगलास्थान लगायतका सडकमा सवारी रोक लगाइएको छ ।

ट्राफिक प्रहरीले त्यस क्षेत्र भएर चल्ने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । पैदलयात्रीलाई भने आवत जावतमा रोक लगाइएको छैन । महाशिवरात्रीको मेलामा पशुपति क्षेत्रमा मदिरा तथा नशालु पदार्थ बेचबिखन र सेवनमा रोक लगाएको छ । पशुपति क्षेत्रको चार किल्लामा मदिरा, गाँजा, भाङ, धतुरो तथा नशालु पदार्थ बेचबिखन र सेवन गर्न रोक लगाइएको हो ।

shares