October 19, 2017

आगामी ३ बर्षमा बिजुली उत्पादन २ हजार १ सय मेगावाट पुग्ने

काठमाण्डौ, ६ चैत्र । आगामी ३ वर्षमा नेपालमा थप १ हजार २ सय मेगावाट बिजुली उत्पादन भई जडित क्षमता २ हजार १ सय मेगावाट नाघ्ने भएको छ ।

आगामी ३ वर्षमा सरकार र निजी लगानीका आयोजना सम्पन्न भई प्रणालीमा यो परिमाणमा बिजुली थप हुने भएको हो ।

सिंहदरबारमा आईतबार बसेको संसदको कृषि समितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरण र उसको सहायक कम्पनीबाट ८ सय र बाँकी ४ सय मेगावाट निजी क्षेत्रबाट बिजुली उत्पादन थप हुने जानकारी दिए ।

हाल ९ सय मेगावाट जडित क्षमता भए पनि ४५ मेगावाट माथिल्लो भोटेकोसी पुनः निर्माण अवस्थामा रहेकाले साढे ८ सय मेगावाट मात्र बिजुली उत्पादन हुने उनले बताए ।

भोटेकोसी सञ्चालनमा आउन अझै ३ वर्ष लाग्ने उनको भनाई छ । यस्तै विद्युत् प्राधिकरणले ३ हजार मेगावाट आयोजनासँग विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) गरिसकेको र थप ५ हजार मेगावाट बराबरका आयोजना पीपीएको प्रतिक्षामा रहेको घिसिङले बताए ।

‘प्राधिकरणले प्रणालीमा सुधार गरेको र स्वदेशमा निर्माणाधीन केही आयोजना सञ्चालनमा आएको र अन्य केही आउने क्रममा रहेको हुँदा भारतबाट बिजुली आयात गरेर मुलुक लोडसेडिङमुक्त बनाउने योजना रहेको छ ।’ कार्यकारी निर्देशक घिसिङले भने ।

बैठकमा समितिका सदस्यहरुले विद्युत विकास दशकसम्बन्धी कार्ययोजना कार्यान्वयनमा ल्याउन सरकारले चासो नदिएको भन्दै आलोचना गरेका थिए ।

साथै समितिले विनियोजित बजेटलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजान पनि ऊर्जा मन्त्रालयलाई पुनः सचेत गराएको छ ।