अहिंसा, मैत्री र करुणालाई ध्यान दिएर समाज विकासमा लाग्न राष्ट्रपतिको जोड

काठमाण्डौ, २७ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले मानव समाजलाई सत्मार्गमा हिँडाउनु पछिल्ला दिनमा चुनौती बन्दै गएको बताएकी छिन् ।

जैन धर्म गुरुको २६१६ औं जन्मोत्सवको अवसरमा नेपाल जैन परिषद्ले आईतबार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । उनले अहिंसा, मैत्री र करुणालाई ध्यान दिएर समाज विकासमा लाग्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रपति भण्डारीले मानवलाई सत्मार्गमा हिँडाउँदै सद्चरित्रवान् बनाउने यस्ता महान विचारकहरुका विचारलाई अबका पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको धारणा पनि राखिन् । धर्मगुरुको जन्मोत्सवकै अवसरमा आईतबार बिहान काठमाण्डौमा ‘प्रभातफेरी’ पनि गरिएको थियो ।