August 23, 2017

अष्ट्रेलियामा छात्रवृत्ति प्राप्त गर्ने २७ पूर्व विद्यार्थी नेपाल फर्के

काठमाण्डौ, ९ चैत्र । अष्ट्रेलियामा छात्रवृत्ति अवार्ड विजेता २७ नेपाली अष्ट्रेलियामा अध्ययन सकेर नेपाल फर्किएका छन् ।

नेपालका अर्थ मन्त्रालयका सचिव डा. राम प्रसाद मैनाली र काठमाण्डौ अष्ट्रेलियाली दूतावासका विकास सहयोगका प्रमुख एमएस एन्सले हेमिङले उनीहरुलाई स्वागत गरेका हुन् ।

काठमाण्डौमा भएको स्वागत तथा पुनर्मिलन कार्यक्रममा अष्ट्रेलिया अवार्ड विजेता पूर्व विद्यार्थीहरुलाई काठमाण्डौ नेपालस्थित अष्ट्रेलियाली दूतावासमा सम्मान गरिएको हो ।

उक्त अवार्ड अष्ट्रेलिया सरकारको मातहमा दिइने अन्तर्राष्ट्रियस्तरको सम्मानजनक अवार्ड हो । पूर्व विद्यार्थीहरुले अब आउने पुस्तालाई पनि अष्ट्रेलियामा अध्ययन गर्ने मौकालाई नगुमाउन आग्रह गरे ।

भर्खरै नेपाल फर्किएका पूर्व विद्यार्थीहरुलाई लक्षित गर्दै डा. मैनालीले अष्ट्रेलियामा सिकेका ज्ञान र सीपलाई नेपालमा सदुपयोग गर्न प्रोत्साहन दिए ।

त्यस्तै एन्सले हेमिङले पूर्व विद्यार्थीले हासिल गरेका अनुभवले नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिए ।

अष्ट्रेलिया नेपालमा छात्रवृत्ति प्रदान गर्ने एउटा प्रमुख राष्ट्र पनि हो । सन् १९६० देखि अष्ट्रेलियाले नेपालमा छात्रवृत्ति अवार्ड दिँदै आएको छ ।