August 20, 2017

अवकाशप्राप्त गोरखा सैनिकलाई राष्ट्र बैंकबाट निवृत्तिभरण दिनुपर्ने माग

काठमाण्डौ, १० चैत्र । गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) ले बेलायती सेनामा काम गरेका अवकाशप्राप्त गोरखा सैनिकलाई नेपाल राष्ट्र बैंकबाट निवृत्तिभरण दिनुपर्ने माग गरेको छ ।

गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) ले बिहीबार पत्रकार सम्मेलन गरी अवकाशपछि पाउने निवृत्तिभरण ‘भारतीय रिजर्भ बैंक’ मार्फत आएकाले अब नेपाल राष्ट्र बैंकमार्फत पाउनुपर्ने माग गरेको हो ।

गेसोका अध्यक्ष कृष्णकुमार राईले गोरखा सैनिकको निवृत्तिभरण भारतीय बैंकमार्फत पठाउनु नेपाल माथिको अपमान भएको बताए ।

अध्यक्ष राईले गोरखा सैनिकलाई अधिकार सहितको दोहोरो नागरिकता, समान कामको समान ज्याला, नेपालमै बेलायत सरह स्तरीय स्वास्थ्य सुविधा र तिनका सन्तानलाई बिना सर्त बेलायतमा आवासीय अधिकार दिइनुपर्ने तथा विधवालाई आजीवन तलबको व्यवस्था गरिनुपर्ने माग गरे ।

सन् १९८६ मा अमेरिकाको हवाई काण्डका पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने, कटौती बिदाको समय बढाइनुपर्ने, गोरखा समुदायका विद्यार्थीलाई छात्रवृत्ति दिइनुपर्ने लगायत माग गरिएको छ । हाल बेलायतमा करिब तीन हजार चार सय गोरखा सैनिक कार्यरत छन् ।