अमेरिकाको टेक्सासमा ३ हप्ते ‘नेपाल सो २०१७’ सुरु

काठमाण्डौ, २६ चैत्र । अमेरिकाको टेक्सास राज्यको फोर्ट वर्थमा ३ हप्ते ‘नेपाल सो २०१७’ सुरु भएको छ । प्रदर्शनीमा नेपालका २ बर्ष अघि गएको भूकम्पमा कलाकारहरुले तयार गरेका चित्रकला, हस्तकला र फोटोहरु रहने छन् ।

यो प्रदर्शनी आगामी अप्रिल २६ सम्म चल्ने छ । आईतबार बाहेक हरेक दिन बिहान ९ बजे देखि साँझ ५ बजे सम्म प्रदर्शनी खुला रहने छ ।

रोटरी फाउन्डेसनका प्रमुख पावल लुकासले पुराना सीप र कलात्मक क्षमताको संरक्षण गर्न अति आवश्यक रहेको भन्दै नेपालको पुनर्निर्माणमा कलाकारहरुको महत्वपूर्ण योगदान रहने बताए ।

कार्यक्रमका संयोजक सौरभ ढकालले स्टोरी साइकलले कलाका माध्यमबाट कसरी कथा भन्न सकिन्छ भन्ने प्रयोग गर्दै आएको बताउँदै चित्रकला, हस्तकला, फोटो र भिडीयो लगायतका फरक फरक विधालाई एकै ठाउँमा प्रस्तुत गर्न सो आयोजना गरिएको बताए ।

प्रदर्शनीमा स्टोरी साइकलले सगरमाथा क्षेत्रमा सञ्चालन गरेका कथा शिविर र गत केही महिना अगाडी सिन्धुलीको दुम्जामा सञ्चालित कला शिविरमा तयार भएका चित्रकला प्रदर्शनीमा राखेको छ । मुख्य चित्रकार सुरेम देशार, अनिल महर्जन र आरके थापाका साथै तासि लामा र जुनी लामाका थान्का पनि प्रदर्शनीमा रहेका छन् ।

स्टोरी साइकलले विभिन्न ठाउँमा गरेको कथा शिवीरमाजम्मा गरेका फोटोहरु प्रदर्शनमा रहने छन् । तीमध्ये फोटोग्राफर नबिन बरालले खिचेका लमजुङका हिमालहरुको फोटो विशेष आकर्षणमा रहेका छन् । प्रदर्शनीमा सगरमाथा र बारपाक क्षेत्रको फोटो पनि छन् ।