September 23, 2017

अब चुनाव कसैले रोक्न सक्दैनः प्रमुख निर्वाचन आयुक्त

काठमाण्डौ, ३० फाल्गुन । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले वैशाख ३१ गते गर्ने स्थानीय तहको निर्वाचनको लागि चाहिने सबै सामाग्री, ऐन, कानून प्राप्त भएकोले चुनाव अब कुनै हालतमा नरोकिने स्पष्ट पारेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त यादवले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने गरी आयोगले आफ्नो कामलाई तिव्रता दिइरहेकोले चुनावको लागि वातावरण बनाउनको लागि सबै राजनीतिक दलहरुले पनि आफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उनले निर्वाचनको सुनिश्चितताको लागि राजनीतिक दलहरुभित्रै पनि सहमति हुनुपर्नेमा जोड दिए । उनले भने, ‘दलहरुबीच देखिएका सबै खाले विमति र असन्तुष्टिहरुलाई सहमतिमा परिणत गर्नुपर्छ, यसको लागि सरकार र प्रमुख दलहरुले विशेष भूमिका निर्वाह गर्नुपर्छ ।’

दुई दशकपछि स्थानीय तहको निर्वाचन हुन गइरहेकोले यसलाई सबैले उत्सवको रुपमा लिनुपर्ने यादवको भनाई थियो ।

उनले मधेशी मोर्चाले २०६४ सालामा पनि चुनावमा भाग नलिने निर्णय गरेको भएपनि पछि चुनावमा आएको उल्लेख गर्दै भने, ‘यसपटक पनि उहाँहरुले स्थानीय तहको निर्वाचनमा भाग लिनुहुन्छ ।’

उनले मतदाता नामावली प्रकाशन अन्तिम चरणमा पुगेको, मतदाता केन्द्र पुनरावलोकन काम भैरहेको, मतपत्र व्यवस्थापन (छपाई) को काम भइरहेको समेत जानकारी दिए ।
उनले भने, ‘मतपत्र छाप्ने काम सुरु भएको छ, आयोगले प्राविधिक कामहरु तिव्रताका साथ अघि बढाएको छ ।’

उनले भने, ‘जनशक्ति व्यवस्थापनको काम भइरहेको छ, यसको लागि हामीले सरकारलाई पनि चैत्र ३ गतेभित्रै कर्मचारी खटनपटन गर्न निर्देशन दिईसकेका छौं ।’
त्यस्तै उनले आयोगभित्रै पनि आन्तरिक कर्मचारी व्यवस्थापन भइरहेको स्पष्ट पारे ।

स्थानीय तहको प्रतिवेदन अनुसार ७४४ युनिटमै एकैदिनमा निर्वाचन गर्नुपर्ने भएकोले यसको लागि सरकारले आफ्नो दायित्व र कर्तव्यको रुपमा मधेशमा पनि चुनाव गराउनुपर्छ ।

उनले भने, ‘एक दिनमै निर्वाचन गर्ने भएकोे यसको लागि सरकारले प्रयास गर्नुपर्छ ।’

मतपत्र छपाई कहिलेसम्म सकिन्छ भन्ने पत्रकारको जिज्ञासमा यादवले भने,‘चैत्र ५ गतेभन्दा अघि नै छपाउने गरी तयारी भैरहेको छ ।’ त्यस्तै उनले मतदाताहरु करिब १ करोड ४० लाख हुने आफूहरुले अनुमान गरेको स्पष्ट पारे ।