October 20, 2017

अफगानिस्तानको काबुलस्थित सैनिक अस्पतालमा आक्रमण, ३० जनाको मृत्यु

काठमाण्डौ, २५ फाल्गुन । अफगानिस्तानको राजधानी काबुलमा रहेको सबैभन्दा ठूलो सैनिक अस्पतालमा बन्दुकधारीहरुले आक्रमण गरेका छन् ।

यस घटनामा परेर अहिलेसम्म ३० जनाको मृत्यु भएको छ भने ५० भन्दा बढि घाइते भएका छन् । अफगानिस्तान रक्षा मन्त्रालयको अनुसार यो घटना हुनु अघि अस्पतालको मुख्यद्वारमा एक आत्मघाती हमला भएको थियो ।

हमला गर्नेहरु डाक्टरको भेषमा आएको प्रत्यक्षदर्शीहरुले बताए । ‘अस्पताल भित्र रहेका सबै घाइतेहरुलाई निकालिएको छ ।’ अफगानिस्तान प्रहरीले बतायो । आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले यो घटनाको जिम्मेवारी लिएको छ ।

यो घटनालाई लिएर राष्ट्रपति असरफ घानीले यो हमलाले सम्पूर्ण मानवीय मूल्यलाई कुल्चिएको बताए । यसैगरी अर्का नेता अब्दुल्ला अब्दुल्लाले यो हमलाको कडा निन्दा गरेका छन् ।