October 20, 2017

अप्ठयारोमा सत्ता गठबन्धन

काठमाण्डौ,२५ चैत्र । स्थानीय तह निर्वाचनको तयारी जारी रहेकै बेला सत्तारुढ दल माओवादी केन्द्र र नेपाली काँग्रेसबीच सत्ता हस्तान्तरणको विषयले प्रवेश पाएसँगै गठबन्धन नै अप्ठ्यारोमा परेको छ ।

संविधान संशोधन र स्थानीय तह निर्वाचनको प्रतिबद्धतासहित सरकारको नेतृत्व गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तिम समयमा दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव गरेलगत्तै काँग्रेसले पूर्व सहमतिअनुसार सत्ता हस्तान्तरणको विषयलाई उठाएको हो । स्थानीय तहको निर्वाचन आउन ३७ दिनमात्र बाँकी रहेका बेला सत्ता हस्तान्तरणको विषय उठेपछि राजनीतिक अन्योल बढेको छ ।

सत्तारुढ दलभित्र काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने विषयमा आन्तरिक छलफल सुरु भए पनि त्यसले फरक नपार्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । माओवादी नेतृत्वको सरकारले चैतभित्रमा नै स्थानीय तहको निर्वाचन गराउने सहमति भएको सत्य हो । प्राविधिक कारण निर्वाचन मिति वैशाख ३१ गते काँग्रेसकै सहमतिमा घोषणा गरिएको हो ।

आचार्यले भने, निर्वाचनलाई अलपत्र पारी मुलुकलाई अराजकतामा छाडेर प्रधानमन्त्री हिँड्नुहुन्न । आचार्यका अनुसार स्थानीय तहको निर्वाचन सम्पन्न भएको केही दिनमै पूर्वसहमतिअनुसार काँग्रेसलाई सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्री दाहाल तयारी अवस्थामा छन । यो खबर आजको नागरिक दैनिकमा छ ।