August 19, 2017

अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को एसिया क्षेत्रीय सम्मेलन आजदेखि काठमाडौंमा सुरु

 

५ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय  प्रहरी अपराध संगठन (इन्टरपोल) को एसिया क्षेत्रीय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ ।

तीन दिन सम्म चल्ने सम्मेलनको आज एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री दाहालले बढ्दो प्रबिधीको बिकाशले सुरक्षा नीतिमा थप चुनौती थपिएको धारणा राख्नुभयो । उहाँले विश्वमाझ फैलिएको आतंवाद नियन्त्रण गर्न सबै एकजुट हुनुपर्ने समेत बताउनुभयो ।

उहाँले आपराधिक मानसिकता भएका मानिसलाई प्राविधिक संयन्त्रबाट नियन्त्रणमा राख्न सके अपराध घटने धारणा राख्नुभयो । कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री बिमेलेन्ध निधिले विश्वमा बढ्दै गएको साइबर अपराध नेपालमा पनि चुनौतीको विषय बनेको धारणा राख्नुभयो ।

इन्टरपोलको सदस्य बनेको ५० बर्षयता नेपालले दोस्रो पटक सम्मेलन आयोजना गर्ने अवसर पाएको हो । सम्मेलनमा ५७ मुलुकका करिब २ सय ५० भन्दा धेरै कानून कार्यान्वयन निकायका उच्च अधिकृत सहभागी छन । सम्मेलनमा नेपालले तीनवटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । मानव तस्करी सम्बन्धी विषयमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने त्यस्तै चोरी शिकारी सम्बन्धी विषयमा डीआइजी नवराज सिलवालले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ् । त्यस्तै आतंकवादसम्बन्धी डीआइजी बमबहादुर भण्डारीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।