अनशनरत दुई पत्रकारको स्वास्थ्य अवस्था विग्रिदो

काठमाण्डौ, १३ फाल्गुण । तीन दिन देखि आमरण अनशनमा बसेका नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुङगाना र इलाम शाखाका सदस्य प्रेम अधिकारीको स्वास्थ्य अवस्था दिन दिनै बिग्रिदै गएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमै तीन दिनदेखि अनसनमा बसेका ढुङगाना र अधिकारीको स्वास्थ्य अवस्था दिप्रतिदिन बिग्रीदै जाँदा महासंघले जिम्मेवारी बोध नगरेको भन्दै नेपाल प्रेस युनियनले प्रेस विज्ञप्ति जारि गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

‘महासंघकै शाखाका अध्यक्ष सहितका दुई पत्रकारले महासंघको केन्द्रीय कार्यालयको मुलढोकामा आमरण अनशनमा बसे पनि महासंघले उनीहरुको माग सम्वोधन गर्न छाडी असारे मेलो छोप्नझै‌ दौडधुपमा रहेको देख्दा हामी अचम्मित भएका छौ भनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।’

‘आमरण अनशन जस्तो अत्यन्तै कठिन आन्दोलनमा उत्रिएका साथीहरु र उनीहरुका मागलाई नजरअन्दाज गर्दै महासंघले देखाएको व्यवहारहरु इतिहासको कठघरामा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।’

‘आमरण अनशनमा रहेका आफ्नै सदस्यहरुको माग सम्वोधन गर्न सामान्य पहल समेत नगरी न्यूनतम मानवीय संवेदना समेत महासंघले नदेखाएको पत्रकारहरुमाझ नै चर्चाको विषय भएको छ भनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।’

विज्ञप्ति मार्फत अनशनरत पत्रकारहरुको माग पुरा गरी उनीहरुको जीवन रक्षा गर्न मानवअधिकार आयोग लगायत मानवअधिकारवादी संघ संस्था र नागरिक समाजलाई प्रेस युनियनले आग्रह समेत गरेको छ ।