October 24, 2017

अझै लाग्न सकेन मतदान केन्द्रको टुङगो

काठमाडौं, चैत्र ११ । सबै जिल्लाबाट प्रस्ताव नआउँदा मतदान केन्द्र टुंगो लगाउन ढिलाई भएको छ । निर्वाचन आयोगले बिहीबारसम्ममा मतदान केन्द्र टुंगो लगाउने तयारी गरेको थियो ।

तर तराइका केही जिल्लाबाट केन्द्रको टुंगो लाग्न सकेको छैन । जिल्ला निर्वाचन कार्यालयले स्थानीय दलका प्रतिनिधिसँग छलफल गरेर केन्द्रको प्रस्ताव गर्नुपर्ने भएपनि तराइका केही जिल्लामा दलहरुको विवादका कारण प्रस्ताव आउन नसकेको निर्वाचन आयोगले जनाएको छ

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार बिहीबारसम्म ६४ जिल्लाबाट मात्र केन्द्रको प्रस्ताव आएको छ । सबै जिल्लाबाट प्रस्ताव आइसकेपछि मतदान केन्द्रको अन्तिम टुंगो लगाइने आयोगले जनाएको छ । आयोगका प्रवक्ता शर्माका अनुसार अब मतदान केन्द्र र मतदाता नामावलीलाई एकैसाथ टुंगो लगाउने तयारी छ ।

आयोगले आउँदो २० गते मतदाता नामावलीलाई अन्तिम रुप दिने कार्यतालिका बनाइसकेको छ । यस्तै मतपत्र छपाईको काम पनि धमाधम भैरहेको आयोगले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रमा १८ जिल्लाको मतपत्र छपाईको लागि पठाइएकोमा हिजोसम्म १२ जिल्लाका लागि मतपत्र छपाईको काम सकिएको छ । सबै जिल्लाका मतपत्र क्रमैसँग छापिने आयोगले बताएको छ ।