October 23, 2017

अक्षय कुमारलाई नेशनल फिल्म अवार्ड

काठमाण्डौ, २५ चैत्र । शुक्रबार नयाँ दिल्लीमा ६४ औं नेशनल फिल्म अवार्ड सम्पन्न भएको छ । अक्षय कुमारले उनको सन् २०१६ को फिल्म ‘रुस्तम’ बाट उत्कृष्ट अभिनेताको अवार्ड हात पारे ।

यो अक्षय कुमारको २५ वर्षको फिल्मी करियरमा पहिलो नेशनल अवार्ड हो । ‘रुस्तम’ ले आमिर खानको ‘दंगल’ र अमिताभ बच्चनको ‘पिंक’ फिल्मलाई पछि पारेर उपाधिका लागि दाबेदार भएको हो ।

‘रुस्तम’ दक्षिणी समाजको घटनामा रहेर बनाइएको वास्तविक फिल्म हो । उत्कृष्ट हिन्दी फिल्मकाे अवार्ड भने सोनम कपूरले अभिनय गरेकाे ‘नीरजा’ ले जित्याे ।

अक्षय कुमारले केही समयअघि भारतको समाचार संस्था पीटीआईसँग कुरा गर्दै भनेका थिए, ‘२५ वर्षको करियरमा अहिलेसम्म एउटा पनि अवार्ड मिलेको छैन । सायद म यसका लागि हकदार पनि छैन ।’

अक्षय कुमारलाई नेशनल अवार्ड मिलेपछि सामाजिक सञ्जालमा धेरै प्रतिक्रियाहरु आएका छन् । दीपा वलेश आफ्नो ट्विटरको खातामा लेख्छन्, ‘आइफा अवार्ड बच्चाका लागि, फिल्मफेयर अवार्ड पुरुषका लागि र नेशनल अवार्ड केवल महान व्यक्तिका लागि हो ।’

सामाजिक सञ्जालमा अक्षय कुमारलाई नेशनल अवार्ड मिलेको भन्दै केही व्यक्तिहरु यसबारे असहमत पनि देखिएका छन् । गगन अधिकारी नाम भएका व्यक्तिले ट्विट गर्दै भने, ‘अक्षय सर तपाई नेशनल अवार्ड लिन सक्नुहुन्न, रुस्तमभन्दा एयरलिफ्ट राम्रो थियो र आमिर खानको दंगलको अघि रुस्तम सानो थियो ।’

तर सामाजिक सञ्जालमा धेरै व्यक्तिहरुले अक्षय कुमारलाई नेशनल अवार्ड मिलेको भन्दै समर्थन गरेका छन् ।